
अजय मण्डल
देवानगञ्ज, ९ वैशाख । नेपालभन्दा भारतमा पेट्रोलियम पदार्थको मूल्य धेरै बढी भएकाले विभिन्न नाकाहरूबाट भारततर्फ पेट्रोलियम पदार्थको तस्करी बढेको छ । सुनसरीको देवानगञ्जमा पनि विभिन्न माध्यमबाट पेट्रोलियम पदार्थलाई चोरी निकासी गरेर सीमापारि भारतका विभिन्न बजारमा पुर्याउने कार्य हुँदै आएको छ ।
टोकन सिस्टम लागू गर्दा पनि सुनसरीको देवानगञ्ज गाउँपालिकामा पेट्रोलियम पदार्थको तस्करी रोकिएको छैन । तस्करी मौलाएपछि अघिल्लो साता गाउँपालिकाले डिजल हाल्दा वडा कार्यालयको सिफारिस अनिवार्य गरेको थियो । देवानगञ्ज–२ मा रहेका गुप्ता आयल ट्रेडर्स र भगत आयल ट्रेडर्सबाट पेट्रोलियम पर्दाथ तस्करी गरी भारत निर्यात बढेकाले गाउँपालिकाको सुरक्षा निकायको बैठकले डिजलमा वडाको सिफारिस अनिवार्य गरिदिएको थियो ।
देवानगञ्जका ती दुई पेट्रोल पम्पले तस्करीसँग मिलेमतो गरी निर्वाध रूपमा पेट्रोलियम पर्दाथ भारततर्फ निर्यात गर्दा सर्वसाधारण मर्कामा थिए । तेल छैन भनेर सर्वसाधारणलाई फर्काइदिने तर तस्करलाई भने गिलेनमा समेत हालेर पठाइदिने भन्दै स्थानीय पटक–पटक आन्दोलित बनेका थिए । विवेकशील साझा पार्टी, सुनसरीले गत चैत्र २६ गते जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेललाई ज्ञापनपत्र बुझाएको थियो ।
सर्वसाधारण, किसानलगायतलाई पेट्रोलियम पदार्थ पाउन सहज होस् भन्ने उद्देश्यका साथ साझा पार्टीले जिप्रकालाई तस्करीमाथि कारवाहीको मागसहित ज्ञापन पत्र बुझाएको थियो । त्यसभन्दा अघि कोही पनि तस्करीको विषयमा प्रशासन नगएका कारण पनि सर्वसाधारणले सास्ती भोग्नुपरेको उल्लेख गर्दै साझाले तस्करी रोक्ने अभियान नै थालेको हो ।
साझाको दबाबपछि जिप्रकाले गाउँपालिकालाई पनि टोकन सिस्टम लागू गर्न निर्देशन दिएको थियो । त्यसपछि देवानगञ्ज गाउँपालिका प्रमुख, जनप्रतिनिधि, सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालयका प्रतिनिधिलगायतको बैठकले ३० लिटरभन्दा बढी डिजेल नदिने र पाँच लिटरभन्दा बढी लिँदा सिफारिस अनिवार्य गर्ने निर्णय गरेको थियो ।
एक साताअघि गाउँपालिकाले गरेको उक्त निर्णयले सर्वसाधारण, किसान, शिक्षक तथा व्यापारीलाई प्रभाव परेको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका थिए । अझै पनि स्थानीयहरू गाउँपालिकाको निर्णयप्रति आक्रोशित छन् ।
दिनदिनै डिजल चाहिने किसानलाई सिफारिस लिन झन्झटिलो भएको स्थानीय किसान रमानन्द मेहता बताउँछन् । उनले भने, ‘हाम्रो पम्पसेटका लागि दिनमा पाँच लिटरभन्दा धेरै डिजल चाहिन्छ । दिनदिनै वडाकार्यालय जानुपर्दा हामीलाई सास्ती छ । तस्करले गरेर किसानले किन दुःख पाउने ?’
प्रशासन भन्छ – अब अनुगमन गछौँ
देवानगञ्ज गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुणामणि गुरागाईँ टोकन सिस्टम लागू गरिए पनि अनुगमन नगरिएको बताउँछन् । अब चाँडै नै टोकन सिस्टमबारे अनुगमन गर्ने उनको भनाइ छ ।
‘डिजल यहाँबाट तस्करी हुनेगरेको पाइएपछि टोकन सिस्टम लागू गरेका हौँ’, उनले ग्रामीण खबरसँग भने, ‘पेट्रोलमा लगाउन गाह्रै हुन्छ । रुटमा चल्ने सबै साधनलाई वडा कार्यालयको सिफारिस अनिवार्य गर्न सम्भव हुँदैन । यसैले डिजल धेरै नदिने र पाँच लिटरभन्दा बढी लिँदा सिफारिस चाहिनेगरी निर्णय गरेका हौँ । तथापि, हामी अनुगमनमा निस्किएका छैनौँ ।’
स्थानीय तस्करीको गुनासो लिएर पालिका नआएका कारण आफूहरू पेट्रोलियम पदार्थको तस्करीका विषयमा अनभिज्ञ रहेको उनको भनाइ छ । उनले भने, ‘यसअघि पनि यहाँबाट पेट्रोलियम पदार्थ तस्करी हुन्थ्यो होला । तर पालिकाबासी यस विषयमा बुझ्न यहाँ आउनु भएको थिएन । प्रशासनले निर्देशन दिएका कारण हामीले टोकन सिस्टम लागू गरेका थियौँ त्यसपछि अहिले विरोध भइरहेको सुनेको छु ।’
यसैगरी, जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेल तस्करी मौलाएका कारण कदम चाल्न बाध्य भएको सुनाउँछन् । ‘त्यहाँबाट धेरै गुनासोहरू आएका थिए । साझा पार्टीले विज्ञप्ति बुझाएपछि गाउँपालिकालाई तत्काल निर्णय लिन निर्देशन दियौँ । अब अनुगमन गर्छौँ,’ उनले भने ।