
विराटनगर, २२ वैशाख । कोरोना भाइरसको पहिचान, निदान, उपचार, बिरामीको ओसारपसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न हुनेहरु कोभिड–१९ बाट संक्रमित भई उपचार गर्नुपरे उनीहरुको सवै उपचार प्रदेश १ सरकारले गर्ने भएको छ । बुधबार मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको प्रदेश १ को मन्त्रिपरिषद् बैठकले कोरोनाविरुद्धको लडाइँमा अग्रमोर्चामा खटिनेको उपचार गरिदिने र मृत्यु भए २५ लाख क्षतिपूर्ति दिने निर्णय गरेको हो ।
सरकारले खटाएका चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मी तथा कर्मचारीहरूलाई तोकिएको सरकारी तथा निजी अस्पतालमा उपचार गर्दा लाग्ने सम्पूर्ण खर्च व्यहार्ने प्रदेश सरकारले निर्णय गरेको हो ।त्यसरी खटिनेहरुको कोभिड–१९ बाट संक्रमित भई मृत्यू भएमा २५ लाख रुपैयाँ क्षतिपूर्ति दिने समेत निर्णय गरेको सामाजिक विकासमन्त्री उषाकला राईले बताइन् ।
सरकारले खटाएर प्रत्यक्ष संलग्न भएका चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मीका साथै कर्मचारीहरूको कोभिड–१९ का कारणबाट मृत्यु भएमा निजको परिवारलाई क्षतिपूर्तिस्वरूप दोहोरो नपर्ने गरी एकमुष्ट २५ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरिएको जानकारी दिइन् । गत बर्ष कोभिड–१९ को पहिलो लहरका बेलामा प्रदेश सरकारले त्यसरी खटिने कर्मचारीका लागि ५० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको थियो । अहिले पुनः अर्को निर्णय गरी क्षतिपुर्ति रकम २५ लाख कायम गरेको हो ।
मन्त्री राईले कोभिड–१९ बाट संक्रमित भई होम आइसोलेसनमा बस्न सक्ने अवस्था नभएकाहरुको हकमा संस्थागत वा होटल आइसोलेसनमा बस्दा लागेको सम्पूर्ण खर्च पनि सरकारले नै व्यहार्ने निर्णय गरेको बताइन् । उनले कोभिड उपचारमा संलग्न रहेको सवै स्वास्थ्यकर्मीहरुको बाँकी रहेको भत्ता रकम पनि उपलब्ध गराइने जानकारी दिइन् ।