२०८२ आश्विन १५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २२ वैशाख । मोरङमा वैशाख १८ गते शनिबारदेखि जारी गरिएको निषेधाज्ञा कडा बनाइने भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले शनिबारदेखि जारी आदेशको कार्यान्वयन नभएको भन्दै अब पूर्ण निषेधाज्ञा लगाउने तयारी भइरहेको जनाएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले कोरोना भाइरसको सङ्क्रमण बढेसँगै गत शनिबार रातिदेखि २५ वैशाखसम्म लागू हुनेगरी विराटनगर महानगरपालिकासहित मोरङका केही स्थानमा निषेधाज्ञा लगाइएका थिए ।

तर, उक्त आदेशको प्रभावकारी कार्यान्वयन नभएको भन्दै प्रजिअ निरौलाले पूर्ण निषेधाज्ञा बनाइने जानकारी दिए । छिमेकी जिल्लाहरूले पूर्ण रूपमा निषेधाज्ञा जारी गरेपछि मोरङमा पनि त्यसको दबाब परेको उनको भनाइ छ ।

‘निषेधाज्ञा खासै प्रभावकारी रहेन । यसैले थप कडा बनाएर पूर्ण निषेधाज्ञा लगाउने तयारीमा छौँ,’ प्रजिअ निरौलाले ग्रामीण खबरसँग भने, ‘फेरि छिमेकी जिल्लाहरूले जिल्लाभरि नै लागू हुनेगरी कडाइका साथ पूर्ण निषेधाज्ञा गरेपछि पनि मोरङमा पनि जिल्लाभरि नै निषेधाज्ञा आदेश गर्ने तयारी छ ।’

यसअघि जिल्ला प्रशासन कार्यालय झापाले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको मङ्गलबार बसेको वैठकको निर्णयअनुसार बुधबार राति १२ बजेदेखि वैशाख ३१ गतेसम्म पूर्ण रूपमा निषेधाज्ञा गर्ने आदेश गरेको छ ।

यता, सुनसरीमा पनि वैशाख ३१ गतेसम्म लागू हुनेगरी पूर्ण निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार मङ्गलबार बसेको डिसिसिएमसीको बैठकले जिल्लाभर पूर्ण निषेधाज्ञा जारी गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!