
विराटनगर, २६ वैशाख । सुनसरीको बर्जु गाउँपालिका–५ का जलिल मियाँ मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका छोराको उपचार गराउँदा सुकुम्बासी अवस्थामा पुगेका छन् । १७ वर्षीय जाबिर अन्सारीको गत फागुनमा दुर्घटना हुँदा (स्पाईनल कर्ड) मेरुदण्ड भाँचिएको थियो । फागुन २ गते बिहान उनी भीमपुरस्थित पेट्रोल पम्पमा तेल हाल्न जाँदै गर्दा दुर्घटनामा परेका थिए ।
सुनसरीको भुटाहा मदरसामा कक्षा ७ मा अध्ययनरत उनी दैनिक ज्यालादारीसमेत गर्दथे । परिवारको आर्थिक अवस्था कमजोर रहेकोले उनी अध्ययन गर्दै दैनिक ज्यालादारी काम गर्दै आइरहेका थिए । उनी स्थानीय आशिष अन्सारीको घर निर्माणमा इँटा जोड्ने काम गर्दैथे । फागुन २ गते ज्यालादारीको रकम माग गर्दै उनी आशिषको घर पुगेका थिए । आशिषले आफूसँग साथमा पैसा नभएको बताउँदै पैसा लिन जानुपर्ने भएकाले बाइकमा तेल हालेर ल्याउन जाबिरलाई अह्राएका थिए । पेट्रोल लिन जानेक्रममा उनले कुदाएको मोटरसाइकल अनियन्त्रित भई उखु बोकेको ट्रयाक्टरमा ठोक्किको थियो ।
दुर्घटनामा उनी गम्भीर घाइते बने । घाइते उनलाई एम्बुलेन्समार्फत उपचारका लागि विराटनगरको गोल्डेन हस्पिटलमा भर्ना गरिएको थियो । त्यहाँ उनलाई २ महिनासम्म भेन्टिलेटरमा राखेर उपचार गरियो । करिब १३ दिनअघि मात्रै उनलाई अस्पतालको जेनेरल वार्डमा सारिएको थियो । उनी मृत्युको मुखबाट त फर्किए । तर जाबिरको उपचारका क्रममा परिवार भने सुकुम्बासी अवस्थामा पुगे । जलिलले आफ्नो ६ कठ्ठा जग्गा बेचेर अस्पताललाई १९ लाख रुपैयाँ बुझाए । सम्पत्तिको नाममा उनीसँग घर र त्यसले ओगटेको जमिन मात्र बाँकी छ । अब अस्पताललाई एक लाख ७० हजार रुपैयाँ अझै तिर्न बाँकी छ ।
‘सम्पत्तिको नाममा अब घर र त्यसले ओगटेको जमिन मात्र बाँकी छ’, जलिलले ग्रामीण खबरसँग भने, ‘अब त्यो तिर्न घरसमेत बेच्नुपर्ने अवस्था छ । सास रहुन्जेल आश हुँदोरहेछ ।’
शनिबार (हिजो) उनी अस्पतालबाट डिस्चार्ज भए । अस्पतालमा उपचारकै क्रममा उनलाई कोरोना सङ्क्रमणसमेत भएको छ । सङ्क्रमित अवस्थामै आफन्तले थप पैसा तिर्नसक्ने अवस्था नभएको बताएपछि शनिबार अस्पतालले उपचार खर्चमा दुई लाख छुट दिँदै उनलाई डिस्चार्ज दिएको हो ।
बिरामीलाई श्वासप्रश्वासमा समस्या नरहेकोले होम आइसोलेसनमा राख्ने परिवारले जनाएको छ । हाल उनी होम आइसोलेसनमा नै छन् । सङ्क्रमित अवस्थामै अस्पतालबाट डिस्चार्ज भएका उनको कम्मरमुनिको भाग चल्दैन ।
यता, दाजु सज्जाद अन्सारी भने भाइ जाबिरको शरीर नचल्ने अवस्था हुनुको कारण अस्पतालको हेलचेक्र्याइँ भएको दाबी गर्छन् । ‘भाइको उपचारमा हामीले अस्पतालले भनेजति रकम पनि खर्च गरेका थियौँ । तर पनि उसको शरीरको कम्मरमुननिको भाग चल्दैन’, उनले भने, ‘यो अवस्थ्या हुनुमा अस्पतालको हेलचेर्क्याइँ छ । अनि कोभिड सङ्क्रमित हुनुमा पनि ।’