
काठमाडाैँ, २६ वैशाख । नेकपा एमालेको नेपाल खनाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सच्चिएर आउन सोमबार बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको छ ।
खनाल नेपाल समूहका सांसदहरुको आईतबार सिंहदरबारमा बसेको बैठकले अध्यक्ष ओलीलाई २०७५ जेठ २ गते फर्किएर पार्टीलाई सहमतिका साथ अघि बढाउने प्रतिवद्धताका लागि भोलि सोमबार बिहान ९ बजे सम्मको समय दिएको हो ।
नेता योगेश भट्टराईले ९ बजेसम्म प्रधानमन्त्री एवं पार्टी अध्यक्षको आफुहरुको मागका सम्बन्धमा प्रतिवद्धता नआए त्यसपछि कठोर निर्णय गर्ने चेतावनी दिए ।
नेता भट्टराईले अध्यक्षबाट प्रतिवद्धता आए बैठकमा उपस्थित भएर विश्वासको मतको पक्षमा मतदान गर्ने र प्रतिवद्धता नआए कठोर निर्णय गर्ने बताए ।
उनले भने, “हाम्रो पार्टी नेकपा एमाले अहिले अत्यन्तै कठिन समयमा छ । पार्टी एकताको रक्षा गर्ने र सामुन्ने आएका ऐतिहासिक जिम्मेवारी पुरा गर्ने सन्र्दभमा हामी अन्तिम बेलासम्म पनि पार्टी एकतालाई जोगाउने कुरामा कोशिष गरिरहेका छौ । आजको बैठक पनि त्यही श्रृंखलाको एउटा कडि हो । भोली प्रतिनिधिसभामा प्रधानमन्त्रीले विश्वासको मत को प्रस्ताव लादै हुनुहुन्छ । त्यस सन्र्दभमा के गर्ने भन्ने नै बारेमा नै आज हामीले छलफल गरेका छौँ ।’