विराटनगर, ७ जेठ । विराटनगर महानगरपालिका–३ स्थित विराट नर्सिङ होमअगाडि रहेको फार्मेसी सञ्चालक औषधिमा कालोबजारी गरेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहा धनगढीमाई नगरपालिका–७ फुलकाहाकट्टी घर भएका २२ वर्षीय रविन्द्र महतो रहेका छन् ।
विराट अस्पताल नजिक पश्चिमवासी फार्मेसी सञ्चालन गर्ने उनलाई फार्मेसीमा औषधि बिक्री गर्दा २ वटा खाता बनाई एउटा खातामा औषधिको वास्तविक मूल्य लेख्ने र अर्को खातामा बढी मूल्य लेख्ने र ग्राहकलाई त्यही बढी मूल्यको खाता देखाई औषधिको बढी मूल्य लिने गरेको पाइएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।
उनका अनुसार महतोले सिरहाकै बरियारपट्टी गाउँपालिका–३ का ४५ वर्षीय रामनारायण मुखियालाई वैशाख २५ गतेदेखि ३० गतेसम्म त्यसरी नै बढी मूल्य लिएका थिए । प्रहरीले कालोबजारी गरिरहेको सूचना पाएपछि प्रारम्भिक अनुसन्धान गर्दा महतोलाई जेठ ६ गते साँझ ५ बजे उनकै फार्मेसीबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम थप अनुसन्धान कार्य भइरहेको डिएसपी राईले जानकारी दिए ।




