
काठमाडौं, २ असार । पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा अपेक्षित सुधार हुन नसकेपछि थप उपचारका लागि आज बुधबार भारतको राजधानी नयाँ दिल्ली लग्ने तयारी गरिएको छ । नेकपा (एमाले) युवा नेता निरज आचार्यकाअनुसार थप उपचारका लागि दिल्लीस्थित एपोलो अस्पताल लग्ने तयारी भएको हो ।
हेमोग्लोविनको कमी, श्वास प्रश्वासमा समस्या भएपछि जेठ ३१ गते सोमबार उहाँलाई थापाथलिस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार हुन नसकेपछि उपचारमा संलग्न चिकित्सकको सुझावअनुसार थप उपचारका लागि भारतको दिल्ली लग्ने तयारी भएको नेता आचार्यले बताए ।
उनलाई आज १२ बजेतिर जहाजमार्फत दिल्ली लगिने आचार्यले जानकारी दिए । नेता आचार्यकाअनुसार खनालसँग एकजना चिकित्सक, श्रीमती र छोरा दिल्ली जाने तयारी भएको छ ।
श्वास प्रश्वासमा समस्या भएपछि अक्सिनको सहयोगमा उपचार भइरहेको छ । यसअघि पनि नेता खनाल उपचारका लागि दिल्लीस्थित एपोलो अस्पताल गएका थिए ।