२०८२ कार्तिक ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ९ असार । कोरोना भाइरस कोभिड १९ महामारीका कारण लामोसमयदेखि रोजगारीबाट विमुख भएका सिटी सफारी चालकलाई दीगो विकास संस्थाले विराटनगरमा खाद्यान्न वितरण गरेको छ ।

बुधबार विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले दिगो विकासको समन्वयमा महानगरका १ सय २ वटा सिटी सफरी चालकलाई राहत प्याकेज वितरण गरेका हुन्। कार्यक्रममा मेयर पराजुलीले निषेधाज्ञाका क्रममा रोजगारीबाट बन्चित भएका सिटीसफारी चालकको समस्यालाई संस्थाले सम्बोधन गर्ने प्रयास गरेको बताए ।

मेयर पराजुलीले कोरोना महामारी कारण महानगरमा सिटीसफारी परिवार बढि प्रभावित भएको बताए। कोरोना महामारीका कारण दैनिक काम गरि जीविका चलाउने सफारी चालकलाई परिवार पाल्न समस्या भएको बताएका थिए ।

कार्यक्रममा विराटनगर ६ का सिटी सफारी चालक देवु महतोले कोरोना र निषेधाज्ञाका कारण परिवार पाल्न समस्या भएको बताएका थिए। बन्दका कारण सवारी चलाउन नपाउँदा परिवार पाल्न कठिन भएको बताएका महतोले ऋणमा खरिद गरिएको सवारीको रकम साहुलाई बुझाउन समस्या हुदै गएको बताए ।

उनले भने, ‘केही हुन्छ कि भनेर सवारी चलाउन सुरु गर्न थालेको कोरोनाले ब्यवसाय ठप्प बनाएको छ। अब कहिले खुल्छ र फेरि पुरानो जसरी सवारी चलाउन पाइन्छ होला। नत्र त परिवार पाल्न नै हामीलाई धेरै समस्या हुन थालिसकेको छ।’

दिगो विकासका कार्यक्रम निर्देशक अभिषेक श्रेष्ठले कोरोना महामारीसंगै निषेधाज्ञाले बढि रुपमा सफारी चालक प्रभावित भएको हुदाँ राहत प्याकेज उपलब्ध गराइएको जानकारी दिए। कार्यक्रममा ५ जना महिला चालकसहित १ सय २ वटा सिटी सफारी चालकलाई खाद्यान्न उपलब्ध गराइएको उनले बताए ।

कोरोना संक्रमणसंगै सामाजिक दुरी कायम गर्ने क्रममा संस्थाले १० जनालाई प्रत्यक्ष रुपमा मेयर पराजुलीमार्फत खाद्यान्न वितरण गरेको थियो। त्यसैगरि, बाँकी अन्य सवारी चालकलाई खाद्यान्न उपलब्ध गराउने गरि संस्थाले नेपाल टे्रड यूनियन कांग्रेस प्रदेश १ का सदस्य मोहम्मद अफजल हुसैनलाई कुपन उपलब्ध गराएको थियो ।

संस्थाले १ सय २ बोरा चामल, दाल १ सय २ किलो, खानेतेल १ सय २ लिटर, नुन १ सय २ प्याकेट, १० पिस मास्क लगायतको सामाग्री चालकलाई उपलब्ध गराएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!