विराटनगर, १० असार । बेलबारी नगरपालिकाले आर्थिक वर्ष २०७८–७९ का लागि एक अर्ब ३५ करोड ७० लाखको बजेट प्रस्तुत गरेको छ । बिहीबार नगरसभामा उप्रमुख ढाकाकुमारी पराजुलीले एक अर्ब ३५ करोड ७० लाख ४६ हजारको बजेट प्रस्तुत गरेकी हुन् ।
उनले चालु खर्चतर्फ ८७ करोड ६ लाख ९० हजार अर्थात ६४ दशमलव ३६ प्रतिशत र पूँजिगततर्फ ४८ करोड ४३ लाख ५६ हजार अर्थात ३५ दशमलव ६९ प्रतिशत बजेट विनियोजन गरेकी हुन् ।
बजेटको स्रोततर्फ आन्तरिक आयबाट १३ करोड ९० लाख ५० हजार, सङ्घीय सरकारबाट १ अर्ब ५७ करोड ४६ लाख, प्रदेश सरकारबाट २ करोड ७८ लाख, बिभिन्न परियोजना तथा कार्यक्रमबाट १० करोड ४४ लाख ५० हजार र नगर विकास कोषबाट ८ करोड ऋण लिने अनुमान गरिएको छ ।
यसैगरी, नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८–०७९ को योजना तथा कार्यक्रममा कला साहित्य र पत्रकारहरूका लागि भवन निर्माण गर्ने भएको छ । कला साहित्य र पत्रकारहरूका लागि भवन निर्माण गर्ने, पत्रकार महासङ्घ प्रदेश १ अक्षयकोषका लागि ५ लाख प्रदान गर्ने जस्ता जनमुखी कार्यक्रमहरू नीति तथा कार्यक्रममा समेटिएका छन् ।
नगरसभामा प्रस्तुत मुख्य योजना तथा कार्यक्रमहरूमा, गरिबसँग नगरपालिका कार्यक्रम, दुःखमा नगरपालिका कार्यक्रम, भूमि बैंक, विपन्न नागरिकलाई खाद्य सुरक्षा, एक वडा एक उत्पादन, एक वडा एक जेष्ठ नागरिक चौतारी, हेल्प डेस्कको व्यबस्था, नागरिक दन्त उपहार कार्यक्रम, नेत्र ज्योती कार्यक्रम, खुल्ला ब्यायामशाला निर्माण, निःशुल्क फिजियो थेरापी सेवा केन्द्र स्थापना, खुल्ला बाल उद्यान निर्माण तथा सन्चालन, आधुनिक कोल्ड स्टोर निर्माण, स्मार्ट कृषि कार्यक्रम, समृद्ध कृषि कार्यक्रम, जनप्रतिनिधिसँग मनका पीडा कार्यक्रम जस्ता दर्जनौ योजनाहरू रहेका छन् ।




