विराटनगर, १४ असार । जिल्ला प्रशासन कार्यालय सुनसरीले आफ्ना सेवाहरुमा पालो सिस्टम लागू गरेको छ । कोरोना संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै प्रशासनले आफ्ना सेवाहरुलाई पालिकाअनुसार विभाजन गरेको प्रशासकीय अधिकृत त्रिलोचन न्यौपानेले जानकारी दिए ।
उनका अनुसार मङ्गलबारबाट लागू हुनेगरी प्रशासनले फरक बारमा फरक स्थानीय तहलाई सेवा प्रवाह गर्नेछ । जसअनुसार आइतबार धरान र इटहरी उपमहानगरपालिकालाई सेवा प्रवाह गरिने छ भने सोमबार रामधुनी नगरपालिका तथा भोक्राहा नरसिंह गाउँपालिकाले सेवा पाउने छन् ।
मङ्गलबार बराहक्षेत्र नगरपालिका र हरिनगर गाउँपालिकालाई सेवा दिइने छ भने बुधबार कोशी गाउँपालिका र देवानगञ्ज गाउँपालिकालाई सेवा दिइने प्रशासनले जनाएको छ । बिहीबार दुहबी नगरपालिका र गढी गाउँपालिकाले सेवा पाउने छन् भने शुक्रबार इनरुवा नगरपालिका र बर्जु गाउँपालिकाले सेवा पाउने छन् ।





