१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बिसीले प्रहरी कर्मचारीले कुनै पनि गैह्र व्यावसायिक कार्य गरेमा क्षम्य नहुने बताएका छन् । प्रदेश १मा सरुवा भई पदभार ग्रहण गर्दै डिआइजी बिकले १ नम्बर प्रदेश मातहत रहेका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरुलाई भिडियो कन्फ्रेन्समार्फत निर्देशन दिँदै उनले उक्त कुरा बताएका हुन् ।
प्रमाणमूखी अपराध अनुसन्धानलाई जोड दिन, फरार अपराधीहरुको खोजतलास र पक्राउ गर्न, पुराना पेण्डिङ अपराधका मुद्दाहरुलाई प्राथमिकतामा राखी फर्छौटको लागि जोड दिन, हिरासत व्यवस्थापनमा बिशेष ध्यान दिन र लागु औषध ओसार पसार रोकथाम तथा नियन्त्रण गर्न तथा सिमावर्ती क्षेत्रबाट हुने अबैध चोरी निकाशी नियन्त्रणका लागी दत्तचित्त भएर लागी पर्न समेत निर्देशन दिनु भएको छ ।
प्रहरी महानिरीक्षक द्वारा जारी गरिएको प्रहरी कर्मचारीहरुको आचार संहिता सम्बन्धी कार्यादेश २०७७ को अक्षरस पालना गर्ने र राम्रो काम गर्ने प्रहरी कर्मचारीलाई तत्काल पुरस्कृत गर्ने तथा खराव आचरण प्रस्तुत गर्नेलाई तत्काल कारवाहि गर्न समेत निर्देशन दिए ।
उनले कुनै पनि नागरिकलाई बिना झन्झट प्रहरी सेवा प्राप्त गर्ने वातावारण बनाउने, नागरिक सहायता कक्षलाई अझ प्रभावकारी बनाउन, कन्ट्रोलमा खटिने प्रहरी कर्मचारीहरुले नागरिकहरुसँग शीष्ट व्यवहार गर्ने र माथिल्लो कार्यालय र सम्बन्धीत कार्यालयको सम्पर्क नम्बर तथा प्रमुखको नम्बर स्पष्ट देखिने स्थानमा राख्न, वर्षातको समय भएकोले बाढी, पहिरो डुवान लगायतका घटना हुने भएकोले उद्धार टोली र उद्धार सामाग्रीहरुसहित तयारी अवस्थामा रहन, प्राकृतिक श्रोतसाधनको अवैध दोहन हुन नदिने तर्फ बिशेष चनाखो हुन तथा कोरोना रोकथाम तथा नियन्त्रण तर्फ बिशेष ध्यान दिई प्रहरी परिचालन गर्न समेत निर्देशन दिए ।




