धरान, २३ असार । सुनसरीको धरानमा ट्राफिक नियम उल्लङ्घन गरी चलाइएको स्कारपियोले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । धरान उपमहानगरपालिका ८ सिद्धकाली चोकस्थित कोसी राजमार्गमा इटहरीतर्फ आउँदै गरेको वा१३च ३०८३ नम्बरको स्कारपियो गाडीले ठक्कर दिँदा सोही स्थानका ५४ वर्षीय डिकप्रसाद बास्तोलाको मृत्यु भएको छ ।
मङ्गलबार दिउँसो १ बजे स्कारपियोको ठक्करबाट घाइते भएका बास्तोलाको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा हिजो राति पौने १२ बजे मृत्यु भएको थियो ।
प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार दुर्घटनामा परेर स्कोरपिओमा सवार सुनसरीको दुहवी नगरपालिका–५ घर भएका निर्माण व्यवसायी ७० वर्षीय सपनकुमार दास घाइते भएका छन् । उनको बिपीमै उपचार भइरहेको छ ।
स्कोरपिओ र चालक मोरङको बेलबारी नगरपालिका–५ का ३६ वर्षीय बुद्ध श्रेष्ठलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।




