ओखलढुंगा, २४ असार । उदयपुरको चपन जंगलमा रुख ढलेर पोल ढाल्दा माथिल्लो सगरमाथाका तीन जिल्लामा विद्युत सेवा अवरुद्ध भएको छ । लगातारको वर्षाले जमिन गलेर रुख ढाल्दा खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा विद्युत सेवा अवरुद्ध भएको हो ।
बुधबार राति परेको भारी वर्षाका कारण उदयपुर–बुईपा सबस्टेशन रुट अन्तर्गत उदयपुर जिल्लाको चपन जंगलमा रुख ढलेर ५ वटा पोल ढाल्दा बिहीबार विहान (११ः ४५ बजे) बाट तीन जिल्लामा विद्युत अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण ओखलढुंगा वितरण केन्द्रले जनाएको छ । उदयपुरबाट बुईपा सब–स्टेशनसम्म ३३ केभी प्रसारण लाईन आउने र त्यहीबाट खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा विद्युत विस्तार गरिएको छ ।
खोटाङ र ओखलढुंगाबाट चपन जंगल पुग्न धेरै समय लाग्ने भएका कारण उदयपुरको गाईघाटबाट टोली पुगेर मर्मत गर्न थालेको र मर्मत सकिए पछि विद्युत आउने ओखलढुंगा वितरणकेन्द्रका कर्मचारी बाबुराम पन्थीले जानकारी दिए ।
त्यस्तै अवरुद्ध विद्युत मर्मतका लागि रसुवाघाटबाट २ जना प्राविधकि र अन्य सहयोगका लागि गाईघाट केन्द्रलाई आग्रह गरिएको विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख ललित नारायण चौधरीले बताए । ५ वटा पोल ढल्दा तार चुडिएको, अन्य पोलहरुमा क्षति पुगेको, डिसपिनहरु फुटेको र एङगल भाँचिएको विद्युत प्रधिकरणले जनाएको छ ।
लामो रुट हुंदै विद्युत प्रसारण भएको र अधिकांश रुट जंगलै जंगलमा पर्ने भएकाले बर्खामा धेरै बाढी, पहिरो जाने र कतिपय अवस्थामा जमिन गलेर पूराना रुखहरु ढल्दा विद्युतको पोल ढाल्ने र तार चुडाइदिने गरेको छ । यो समस्याबाट ओखलढुंगा सोलुखुम्बु र खोटाङका सर्वसाधरण आजित भएका छन् ।




