रौतहट । प्रहरीले बर्दीमै टिकटक भिडियो बनाउनेदेखि मादकपदार्थ सेवन गर्ने गरेका दृष्य सामाजिक सञ्जालमा छाउने गरेका छन् । तर यता रौतहटका प्रहरी नायब निरीक्षकले भने नर्तकीसँग नाचेर अश्लिलता मात्रै प्रदर्शन गरेनन् प्रहरी संगठनकै बद्नाम गरेका छन् ।
चाडपर्वका अवसरमा मधेस प्रदेशमा मेला लाग्ने गर्दछ । मेला भर्न आएकालाई लक्षित गर्दै सांगीतिक कार्यक्रम पनि आयोजना गरिन्छन् । अझ, भारतबाट कलाकार बोलाएर नृत्य देखाउने चलनजस्तै बनेको छ । दर्शकको भीड लाग्ने हुँदा त्यस्ता कार्यक्रममा प्रहरीले सुरक्षा दिने गरेका छन् ।
अवाञ्छित गतिविधि हुन नदिन प्रहरी दत्तचित्त हुनुपर्ने ठाउँमा प्रहरीले नै साख गिराउने हर्कत गरेका छन् । रौतहटको गढीमाई नगरपालिकामा कृष्ण जन्माष्टमीको अवसरमा आयोजना गरिएको एक कार्यक्रममा प्रहरीले पदीय मर्यादा बिर्सिएको भिडियो प्राप्त भएको छ ।
दृष्यमा यसरी नाचिरहेका यी व्यक्ति प्रहरी नायब निरीक्षक राजकिशोर साह हुन् । नाचिरहेका युवतीलाई अश्लिल हर्कत गरिरहेको प्रष्ट देखिन्छ ।
भोजपुरी गीतमा प्रयोग भएका दुईअर्थी लाग्ने शब्द र त्यसैमा प्रहरी पोशाक लगाएर नृत्य गरेका साहलाई जिल्ला प्रहरी कार्यालय रौतहट तानिएको छ । साहको जिम्मेवारी पनि खोसिएको छ भने विभागीय कारवाहीका लागि प्रक्रिया अघि बढाइएको प्रहरी कार्यालयले दाबी गरेकोछ ।




