सुनसरी । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ३ मा दुई नेताबीच प्रतिष्पर्धामा नेकपा एमालेकी नेतृ भगबती चौधरीतर्फ मतदाता आकर्षित भएका छन् । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार र चौधरीबीचको मुख्य प्रतिष्पर्धामा लघुवित्त अभियानकर्मी समेत रहेकी चौधरीको विकासे एजेण्डामा मतदाता आकर्षित भएका हुन् ।
आसन्न निर्वाचनका लागि दुवै जना तेश्रो प्रतिष्पर्धामा छन् । यसअघिको दुइवटा प्रतिष्पर्धामा चौधरी पराजित भएपनि योपटक भने मतदाता उनको पक्षमा खुलेर लागेका छन् । क्षेत्रका बर्जु गाउँपालिका, गढी गाउँपालिका, इटहरी उपमहानगरपालिकाका क्षेत्र र दुहवीका अधिकांश क्षेत्रमा चौधरीको चर्चा छ । त्यसो त ६, ६ पटक गच्छदारलाई मत दिएर वाक्क भएका कांग्रेसी हरू नै यो पटक विकासकै लागि भएपनि नेतृत्व परिवर्तनको पक्षमा उभिएका छन् । क्षेत्रका पुराना कांग्रेसीहरू गच्छदारलाई पुनः जिताएर गल्ती नगर्ने मनस्थितिमा छन् ।
गढी र बर्जु गाउँपालिका, दुहबी नगरपालिका, इटहरी उपमहानगरपालिकाको ६ देखि १५ सम्म र इनरुवाको ७ नम्बर वडा यो क्षेत्रमा पर्छ। यस क्षेत्रका मतदाता रिझाउन उम्मेदवारहरु ब्यस्त छन् । चौधरी र गच्छदार घरदैलो गर्दै गर्दा अधिकांश क्षेत्रमा चौधरी प्रति मतदाताको रूचि देखिएको छ । स्वयं गच्छदारको गाउँ पचिरामा धेरै मतदाता योपटक चौधरीलाई जिताउने पक्षमा देखिएका छन् । कांग्रेसीहरूको गढ भनेर परिचित दुहवी वडा नं। ९ छातावेली, गढी १ मधेलीमा एमालेले युवाहरू समेटेको छ ।
गच्छदार सातौं पटक चुनावी प्रतिस्पर्धामा छन् । उनी सुनसरीबाट प्रतिनिधिसभा, संविधानसभा गरी ६ पटक विजयी भएका थिए । पाँचौ र छैटौं प्रतिष्पर्धामा उनले व्यापक धाँधली गरेको आरोप छ । त्यसका विरूद्ध त्यतिबेलै भगबती चौधरीले न्यायालयको ढोका ढक्ढक्याए पनि अहिलेसम्म फैसला हुन सकेको छैन । चौधरीलाई न्यायालयले पनि साथ नदिएको ठहर गर्दै योपटक भारी मतका साथ जिताएर पठाउने मनस्थिति बनाएको बर्जु ६ का ३८ वर्षीय विजुल मेहता बताउँछन् ।
विगत १० वर्ष यता गाउँमा कुनै गतिलो योजनाहरू नपरेको, सरकारी विद्यालय झन खस्किएको, एउटा स्वास्थ्य संस्था पनि नबनेकोले मतदाता गच्छदार प्रति रूष्ट छन् । दुहवी १० सिमरियाका ७० वर्षीय धनीलाल माझीले नेता दिनदिनै धनी भएको जनता गरिबका गरिब रहेकाले परिवर्तनका लागि पनि गच्छदारलाई विदा गर्नुपर्ने बताए ।
सातौं पटक चुनावी मैदानमा होमिँदा गच्छदारलाई कांग्रेससँगै सत्तारुढ गठबन्धनमा आवद्ध नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थन भएतापनि ३५ वर्षसम्म गच्छदारको साथ लागेर हिँडेका टेकचन्द विस्वास, मिलिराम विस्वास लगायत एमालेमा समाहित भएका छन् ।
तेस्रोपटक चुनावी मैदानमा उत्रिएकी भगबतीलाई भने जनता समाजवादी पार्टी ९जसपा० को समर्थन छ । साथमा उनले स्थानीय विकासका एजेण्डाहरू बोकेकोले युवा र महिलाहरूको ध्यानाकर्षण गराएकी छन् । निर्यातमुखी कृषि, युवा स्वरोजगार र प्राविधिक शिक्षा सहित सुनसरी ३ को विकास गर्ने एजेण्डा चौधरीले बनाएकी छिन् ।
२०७० र २०७४ मा गच्छदारसँगै पराजित भगबती यसपटक जसरी पनि जित्नैपर्ने दबावमा भएपनि मतदाताहरू नै परिवर्तनको पक्षमा उभिएकाले भारी मतान्तरका साथ जित हुनेमा ढुक्क छिन् ।
‘विगत २ वटा निर्वाचन जितेकै हो । न्यायालयले बदर मत मात्र गनिदिएको भए मलाई न्याय मिल्दथ्यो । तर, भएन योपटक जनताले मलाई भारी मतले जिताउनु हुन्छ म ढुक्क छु ।’ चौधरी भन्छिन् ।
त्यसो त राजनीतिमा साम मदाम दण्ड भेदको राजनीति गर्न माहिर गच्छदारले धाँधली र सेटिङ गरेर पुनः हराउने होकि भन्नेमा चौधरीको चिन्ता छ । त्यहि भएर घरदैलो कार्यक्रममा जाँदै गर्दा उनी मतदाता, कार्यकर्ता र निर्वाचन कार्यालयका अधिकारीहरूलाई पनि निष्पक्ष निर्वाचन गर्न गराउन सचेत गराइरहेकी छिन् । प्रशासनलाई निष्पक्ष भएर काम गर्न अनुरोध गरिरहेकी छिन् ।
गच्छदारले तत्कालिन मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पार्टीबाट दोस्रो संविधानसभा निर्वाचन २०७० मा १७ हजार ५ सय २४ मत ल्याएका थिए । चौधरीले १७ हजार १ सय ६२ मत प्राप्त गरेकी थिइन् । गच्छदार र चौधरीबीच मात्र ३ सय ६२ मतान्तर थियो । त्यस्तै, २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा गच्छदारले ३८ हजार ९७२ मत ल्याउँदा चौधरीले ३८ हजार ६५१ मत ल्याएकी थिइन् ।
गच्छदार २०४८, २०५१ र २०५६ को आमनिर्वाचनमा कांग्रेसबाट निर्वाचित भएका थिए। २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा मधेसी जनअधिकार फोरम र २०७० सालको संविधानसभा निर्वाचनका मधेसी अधिकार फोरम ९लोकतान्त्रिक० बाट निर्वाचित भएका थिए । ६ पटक सांसद १३ पटक मन्त्री भएतापनि सुनसरी क्षेत्र नं। ३ को विकासमा उनले खासै काम नगरेको गुनासो छ ।
त्योसँगै गच्छदारलाई बालुवाटार स्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिलाई विक्रि गरेकोमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेकोले उनी जितेर गएपनि सांसद हुन पाउँदैनन् । उक्त प्रकरणमा गच्छदारसँगै १७५ जनालाई मुद्दा परेकोले तत्कालै मुद्दाको किनारा लाग्ने परिस्थिति पनि छैन । यो अवस्थामा उनले चुनाबै जितेपनि सपथ नै खान नपाउने, संसद विकास कोषको बजेट चलाउन नपाउने अवस्था छ ।
ललिता निवास सरकारी जग्गा प्रकरणमा गच्छदारको अख्तियारले सबै बैंक ब्यालेन्स, सम्पत्ति रोक्का गरेपनि उनी चुनाब लडिरहेका छन् । उनको चुनाबी खर्चको श्रोत समेत शंकामा छ ।
गच्छदारलाई जिताए सुनसरी क्षेत्र नं। ३ झनै पछि पर्ने विषयमा मतदाता सचेत रहेकाले योपटक सुनसरीमा महिला उम्मेदवार संसद प्रवेश गर्ने निश्चत जस्तै छ । गच्छदारले भने अब चुनाब जिते थारूको छोरोले गिनिजबुकमा नाम लेखाउँछ, गौरब हुन्छ, भगबती महिला हो केही गर्न सक्दैन भन्दै मतदातालाई फकाइ रहेका छन् ।




