विराटनगर । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले बदलिदो राजनीतिक घटनाक्रमलाई लिएर पार्टी सभापति शेरबहादुर देउवालाई कारबाही गर्नु पर्छ भन्ने कुरा गलत भएको बताएका छन्। बुधबार गृहनगर विराटनगर आइपुगेका कोइरालाले विमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दै काँग्रेस छोडेर एमालेसँग मिल्नु भनेको माओवादी अध्यक्ष प्रचण्डको कमजोरी र गठबन्धनको मर्म बुझ्न नसक्नु भएको स्पस्ट पारे।
यसमा सभापतिलाई दोस दिनु भन्दापनि काँग्रेसको पनि कमजोरी रहेको उनले बताए । बरु गठबन्धन गर्दानै कमजोरी भएको पनि उनले स्पस्ट पारे । अर्को एक प्रसङ्गमा डा। कोइरालाले विशेष अधिबेसनको माग गर्नु औचित्यपूर्ण नरहने दाबी गरे, कोइरालाले भने विशेष अधिवेशन बोलाउने प्रक्रिया लामो र झन्झटिलो भएको हुदा नीति अधिवेशन बोलाउनु अहिलेको आवश्यकता गरेको जिकिर गरे।
कोइरालाले काँग्रेसले माओवादी र एमालेको चाललाई बुझ्न नसक्दा दुर्घटना भएको पनि बताए । ‘हामीले माओवादीको र एमालेको चाललाई बुझ्न सकेनौँ,’ कोइरालाले ठोकुवा गरे । गठबन्धन विभाजन भएको विषयमा नेपाली काँग्रेसको आगामी पुस २२ गतेदेखि बस्ने केन्द्रीय समितिको बैठकमा निर्मम समीक्षा हुने उनले बताए । ‘हाम्रो तर्फबाट पनि नेगोशिएसन टिम थियो । कसरी वार्ता गर्नुभयो । यो विषयमा २२ गतेदेखिको बैठकमा निर्मम समीक्षा गर्छौं,’ कोइरालाले भने ।




