सुनसरी : बोलेरो पिकअपमा लोड गरि धनकुटाबाट बेलबारी लादै गरेको ८ सय ९० केजि गाजा धनकुटा साँगुरीगढी गाउँपालिकाका प्रहरी चौकी ओख्रेले बरामद गरेको छ ।
पिकअप गाडीमा २९ वटा बोरामा रहेको गाँजा आज शनिबार बिहान बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिए । साथै साँगुरीगढी गाउँपालिका–२, बुढीमोरङका १९ वर्षीय उल्लास लिम्बूलाई नियन्त्रणमा पनि लिइएको छ ।
धनकुटाको बुढीमोरङबाट मोरङको केराबारीतर्फ गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरी सहायक निरीक्षक विनोदकुमार राजवंशीको कमाण्डमा ३ जनाको एम्बुस टोली परिचालन गरिएको प्रवक्ता खनालले बताए ।
नजिकका प्रहरी युनिट लगायत इप्रका राजारानीबाट प्रहरी निरीक्षक प्रमोद खड्काको कमाण्डमा २० जनाको जनशक्ति परिचालन भएको थियो ।
उक्त सपोर्ट टोली नपुग्दै प्र १-०२-००२ च ५२३८ नम्बरको महिन्द्रा पिकअपका चालकले भने फरार रहेकोले खोजीकार्य भई रहेको प्रहरीले जनाएको छ !


										
												
												
												
												
												
												

