२०८२ कार्तिक १८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सुनसरी ः राष्ट्रिय समता दिवसको अवसरमा नेपाली कांग्रेस, क्षेत्र नं. १, सुनसरीले धरानमा शुभकामना आदान–प्रदान तथा सहभोज कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षता तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मीनबहादुर विश्वकर्माको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।

मुख्य अतिथि विश्वकर्माले दलित समुदायमाथि अझै पनि जातीय शोषण र छुवाछुत कायमै रहेको उल्लेख गर्दै, पूर्वतिर यसको प्रभाव कम भए पनि पश्चिम नेपालमा अवस्था अझै गम्भीर रहेको बताए । उनले जातीय विभेद केवल दलितभित्र होइन, ब्राम्हण, क्षेत्री, खस, आर्य समुदायभित्र पनि देखिन थालेको, विशेषतः पकाएको खाना खान नमान्ने प्रवृत्ति अझै विद्यमान रहेकोमा चिन्ता व्यक्त गरे ।

उनले नेपाली कांग्रेसकै नेतृत्वमा राष्ट्रिय दलित आयोगको गठन गरिएको, २०४७ सालको संविधान, २०६३ सालको अन्तरिम संविधान र २०७२ सालको संविधानमार्फत दलित समुदायका हक–अधिकार सुनिश्चित गरिएको बताए ।

कार्यक्रममा सभापति सुजेन्द्र तामाङले २००९ साल जेठ १० गते बी.पी. कोइरालाको नेतृत्वमा सबै जातजातिका प्रतिनिधिहरूले सहभोज गरेर जातीय छुवाछुतविरुद्ध सन्देश दिएको दिनलाई नै कांग्रेसले राष्ट्रिय समता दिवसको रूपमा मनाउँदै आएको स्पष्ट पारे। उनले यो कार्यक्रम केवल शुभकामना आदान–प्रदान मात्र नभई सामाजिक सद्भाव, सचेतना र विचार आदान–प्रदानको अभियान भएको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका कोशी प्रदेश महामन्त्री उमेश थापाले जातीय भेदभाव र छुवाछुत अन्त्यको लागि पूर्ण प्रतिबद्धता व्यक्त गरे। प्रदेश सदस्य एवं दलित विभाग प्रमुख गणेश परियारले नीति–नियम बनेपनि कार्यान्वयनमा कमी रहेकोप्रति चिन्ता जनाए ।

त्यस्तै, नेपाल दलित संघका प्रदेश सभापति गोविन्द दर्नालले दलितको नाममा गैरदलितले सुविधा लिएको गुनासो गर्दै विभेद अन्त्यका प्रयासमा सच्चा प्रतिनिधित्व हुनुपर्ने बताए । संघका वरिष्ठ उपाध्यक्षले भने कार्यक्रमबाट सकारात्मक सन्देश प्रवाह भएको उल्लेख गरे ।

विश्वकर्मा कल्याण सेवा समितिका अध्यक्ष खड्ग विश्वकर्माले नेपाली कांग्रेसले विभेद अन्त्यको पक्षमा आवाज उठाएकोमा सन्तोष व्यक्त गर्दै, अझै पनि विभेद भोग्नुपरेको पीडा पनि सुनाए । नेपाली कांग्रेसकी जिल्ला सदस्य तथा धरान–१ की वडा सदस्य रिता सुन्दासले यस्ता कार्यक्रमले समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिन ।

धरान कांग्रेस सभापति श्याम पोखरेलले आफ्नो परिवार सानैदेखि सबै जातका साथीहरूसँग सहभोज गर्ने संस्कारमा हुर्किएको बताउँदै, पछिल्ला समय पश्चिमतिरको विभेदजन्य समाचारले दुख दिने गरेको बताए। नेपाल तरुण दलका केन्द्रीय सदस्य प्रेम मुकारुङ राईले आफ्ना छिमेकी दलित भएकाले आपसी सहकार्य र सहभोज निरन्तर हुँदै आएको अनुभव सुनाए ।

प्रदेशसभा १(१) का सचिव युवराज शंकरले दलित हकहितका सवालमा व्यवहारमा परिवर्तन आउन नसकेको टिप्पणी गरे। धरान–१६ की वडा सदस्य मिरा वि.क. ले दलित समुदायमा एकता अभाव देखिएको भन्दै अगुवा नेताहरूले सबैलाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा विश्वकर्मा कल्याण सेवा समिति, मिजार सेवा समिति, परियार सेवा समाज, मरिक सेवा समाज, वादी उत्थान समाज र गन्धर्व समाजका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता थियो। कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव तथा प्रवक्ता केशव पुरीले गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय सभाका प्रत्यासी मिना पुलामी, प्रदेशसभा १(२) का सभापति तथा धरान–१६ का वडा अध्यक्ष मुरारी भट्टराई, जनप्रतिनिधिहरू वुना शंकर, शोभा विश्वकर्मा, अम्विका विशुङ्खे, रमिता श्रेष्ठ, जिल्ला सदस्य रत्न रिमाल लगायत दर्जनौं पार्टी तथा शुभेच्छुक संघ–संस्थाका नेताहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!