विराटनगर, १४ जेठ – बेनी बजारमा सञ्चालनमा रहेको खानेपानी आयोजना विस्तारसँगै जल शुद्धीकरणका संरचना निर्माण गरिएको छ ।
सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले झण्डै २ करोड ४६ लाख रुपैयाँको लागतमा बराहपाखोमा नौ लाख लिटर क्षमताका तीनवटा शुद्धीकरण ट्याङ्की निर्माण गरेको हो ।
बेनी खानेपानी उपभोक्ता समितिका अध्यक्ष रमेश गिरीका अनुसार मुहानबाट ल्याइएको पानीलाई दुई चरणमा शुद्धीकरण गरी उपभोक्तामाझ वितरण गरिनेछ । पाइपलाइनमार्फत ल्याइएको पानीलाई ३ लाख ५० हजार लिटर क्षमताका ’सेडिमेन्टेसन’ ट्याङ्कीमा संकलन गरिने व्यवस्था मिलाइएको छ ।
वि.सं. २०६३ मा नगर विकास कोषबाट ऋण लिएर प्रारम्भ गरिएको आयोजना हाल बेनी नगरपालिका–२ हाँडेभिर, वडा नं ७ र ८ बेनीबजारका १,२१६ घरधुरीका करिब २५ हजार जनसङ्ख्यालाई खानेपानी आपूर्ति गर्दै आएको छ ।
बेनीमा जनघनत्वसँगै पानीको माग बढ्दै गएकाले आपूर्ति सहज बनाउन आयोजना विस्तार गरिएको हो। हाल अन्नपूर्ण गाउँपालिका–८ को रिठ्ठाखर्क, डाँडाखर्क र बेनी नगरपालिका–३ को कोप्रे खोलाको मुहानबाट प्रतिसेकेन्ड २४ लिटर पानी आपूर्ति भई वितरण हुँदै आएको छ। साथै, बेनीको मङ्गलाघाटस्थित म्यादी नदीको किनारबाट पानी लिफ्ट गर्ने वैकल्पिक संरचना पनि निर्माण गरिएको छ ।


										
												
												
												
												
												
												

