२०८२ कार्तिक १८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, १६ जेठः कोशी प्रदेशसभाको आजको बैठकमा ‘कोशी प्रदेश विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता–२०८२’ माथिको छलफल सकिएको छ ।
प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले यही जेठ ११ गते सदनमा पेस गरेका सिद्धान्त र प्राथमिकतामा २७ जना सांसदले छलफलमा भाग लिई आवश्यक सुझाव दिएका थिए ।

योजनामन्त्री मागरले छलफलका क्रममा उठेका जिज्ञासाको सम्बन्धमा नीति तथा कार्यक्रमलाई आधार मानी तयार गरिएको सिद्धान्त र प्राथमिकता आगामी आर्थिक वर्षको वार्षिक बजेटको मार्गदर्शक बन्ने बताए ।
सबै सांसदहरूको सुझाव रचनात्मक रहेको बताउँदै मन्त्री मगरले आर्थिक आधारको सबलीकरण र आर्थिक वृद्धि, दिगो विकास, सङ्घीयता कार्यान्वयन, अन्तर तह समन्वय, सार्वजनिक सेवा प्रवाह र सुशासन, सार्वजनिक वित्त र वित्तीय अनुशासन, सामाजिक विकास, न्याय र मानवअधिकार, ग्रामीण विकासलगायत विषयलाई सिद्धान्त र प्राथमिकतामा महत्व दिइएको जानकारी दिए ।

उनले जनमुखी सेवा प्रवाह र सुशासन, कानुनी शासन र शान्ति सुरक्षा, भौतिक पूर्वाधार, कृषिको आधुनिकीकरण र व्यासायीकरण, खानेपानी, सिँचाइ तथा ऊर्जा, पर्यटन क्षेत्रको विकास र प्रवद्र्धन, शिक्षा, खेलकुद, संस्कृति, रोजगार र समावेशिता, स्वास्थ्य सेवा, औद्योगिक विकास र निजी क्षेत्रको प्रवद्र्धन, यातायात क्षेत्रको व्यवस्थापन, वन, वातावरण संरक्षण, विपद् व्यवस्थापन, सहकारीको अनुगमन र नियमन तथा सार्वजनिक वित्तीय व्यवस्थापनलगायत विषय समेटेर बजेट सर्वपक्षीय, समानुपातिक र सर्वस्वीकार्य बनाइने उल्लेख गरे ।

प्रदेशसभाको आजको बैठकको विशेष समयमा नेपाली कांग्रेस संसदीय दलका तर्फबाट सांसद प्रदीपकुमार सुनुवारले जनताको माग र आवाजका बारेमा छलफल गर्ने संसद् कमजोर बन्न नुहने धारणा राखे । उनले आगामी आर्थिक वर्षका लागि आउने वार्षिक बजेट पारदर्शी हुनुपर्ने भन्दै सांसदहरूको योजना सुनिश्चितताको माग गरे ।

बैठकको शून्य समयमा कोशी प्रदेशसभाका सांसद सपना दर्जी, रमेशकुमार बस्नेत, लीलाबल्लभ अधिकारी, मीना श्रेष्ठ, शीला दीक्षित कार्की, निरादेवी खनाल, मालतीकुमार लिम्बू, ललिताकुमरी चौधरी, रामकुमार खत्री, सुनिता गच्छदार, लखिकुमारी गणेश, शोभा चेम्जोङ, गणेशप्रसाद उप्रेती र राजन किराँतीले आ–आफ्नो धारणा राखेका थिए ।
उनीहरूले पर्यटन, विपद्, विकास, कृषि बीउविजन, रासायनिक मल, गाजा खेती, भाषा र संस्कृति, ग्रामथान र सडक दुर्घटनालगायत समयसापेक्ष विषयमा धारणा राखेका थिए । अर्को सूचना जारी नभएसम्म प्रदेशसभाको बैठक स्थगित भएको उपसभामुख सिर्जना दनुवारले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!