२०८३ श्रावण २०       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर: कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री  इसराइल मन्सुरीको सात महिने कार्यकाल उपलब्धिभन्दा विवाद र आलोचनाले बढी चर्चामा आएको छ। पदभार सम्हालेको दिन देखि मन्त्रालयले जनताले महसुस गर्ने कुनै उल्लेखनीय उपलब्धि दिन नसकेको भन्दै व्यापक प्रश्न उठिरहेका बेला मन्त्रीले भने तीन वटा सरकारी गाडी परिवर्तन गरेका छन्।

सात महिनाको अवधिमा सरकारी गाडी पटक–पटक परिवर्तन गरिनु आफैंमा चासोको विषय बनेको छ। मन्त्रीलाई यस्तो के सुरक्षा चुनौती थियो वा के त्यस्तो कार्यगत आवश्यकता पर्‍यो कि छोटो अवधिमै तीन वटा सरकारी गाडी फेर्नुपर्‍यो? यसबारे मन्त्रालयले हालसम्म स्पष्ट जवाफ दिएको छैन।

उता किसान भने अझै पनि मल अभाव, सिँचाइको समस्या, उत्पादनको उचित मूल्य नपाउने र बजार व्यवस्थापनको कमजोरीसँग जुधिरहेका छन्। खेती गर्ने समयमा मल नपाएर किसान हैरान भइरहेका बेला मन्त्रालयको ध्यान उनीहरूको समस्याभन्दा औपचारिक कार्यक्रम, खादा र मालामा केन्द्रित देखिएको आरोप बढ्दो छ।

मन्त्री मन्सुरीको सात महिनाको सार्वजनिक गतिविधि हेर्दा विकास र कृषि सुधारभन्दा सम्मान ग्रहण, उद्घाटन, स्वागत र औपचारिक कार्यक्रममा सहभागिता नै बढी देखिएको टिप्पणी भइरहेको छ। मन्त्रालयले कृषि क्षेत्रका समस्या समाधानमा कति काम गर्‍यो भन्नेभन्दा मन्त्री कुन कार्यक्रममा खादा र माला लगाउँदै पुगे भन्ने तस्बिर नै बढी सार्वजनिक भएका छन्।

प्रदेश सरकारमाथि “काम कम, खर्च बढी” भन्ने जनधारणा बलियो बन्दै गइरहेका बेला मन्त्री मन्सुरीको कार्यशैलीले त्यसलाई थप बल पुर्‍याएको चर्चा भइरहेको छ। जनताले परिणाम खोजिरहेका छन्, तर सात महिनाको कार्यकालमा मन्त्रालयबाट त्यस्तो नतिजा देखिन नसकेको गुनासो बढ्दो छ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!