काठमाडाैं, २३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज नारायणहिटी दरबारबाहिर जनप्रदर्शनमा सम्बोधन गर्दैछन् । प्रतिनिधिसभा विघटनसँगै नेपाल कम्युनिस्ट पार्टी दुई समूहमा विभाजित भएपछि प्रचण्ड–नेपाल समूहले जनप्रदर्शन गर्दैआएको थियो । त्यसलाई काउन्टर दिँदै ओली समूहले ’जनप्रदर्शन कस्तो हुन्छ देखाउँछु’ भन्दै शुक्रबारको सभा आयोजना गरेको हो ।
गत माघ ९ मा नेकपा प्रचण्ड–माधव समूहले बृहत सभा गरेपछि त्यसको काउण्टरमा हुन लागेको सभामा दुईदेखि तीन लाख मानिस सहभागी हुने सो समूहका नेताहरुको दाबी छ । सो सभामा मार्फत् मूलतः तीन सन्देश दिइने यो समूहका नेता महेश बस्नेतले बताएका छन् ।
उनका अनुसार विभाजित नेकपामा ग्राउण्ड तहका ९० प्रतिशत जनता केपी ओलीसँग छन् । जनता ताजा जनादेशको पक्षमा छन् । र, केपी ओलीको विकल्पमा प्रचण्ड वा माधव नेपालमात्र होइन, कांग्रेस पनि होइन भन्ने सन्देश दिने सभाको उद्देश्य हो ।
आज १६ स्थानबाट जुलुस निकाल्ने तयारी गरेको उनले बताए । आजको सभाका लागि नारायणहिटी संग्रहालयबाहिर मञ्च बनाइएको छ । प्रधानमन्त्रीको कार्यक्रमका लागि तयारी गर्ने भन्दै तीनधारा, केशमहल, नागपोखरीदेखि नारायणहिटीसम्मको बाटो ट्राफिकले डाइभर्ट गरेको छ । सभाकै लागि भनेर बुधबार राति नै दरबारमार्ग सडकमा रहेको डिभाइडर हटाइएका थिए ।




