२०८२ आश्विन १६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

बैतडी, २६ माघ । बलात्कारपछि हत्या गरिएको आशङ्का गरिएकी दोगडकादार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको ‘भेजाइनल स्वाब’ काठमाडौँ पठाइएको छ । घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको आशङ्का गरिएकाले उनको स्वाब परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको प्रहरीले जनाएको छ ।

स्वाब परीक्षणले थप अनुसन्धानका लागि सहज हुने प्रहरी प्रवक्ता जनक धाँमीले जानकारी दिए । घटनास्थलबाट प्राप्त भएका सम्पूर्ण प्रमाण सुरक्षित राखेर थप अनुसन्धानको काम भइरहेको उनले बताए । डिएनए परीक्षणका लागि ‘भेजाइनल स्वाब’लगायतका नमूना सङ्कलन गरिएका हुन् ।

भागरथीको ‘भेजाइनल स्वाब’मा शङ्का लागेको व्यक्तिको शुक्रकिटसँग मिलेमा दोषी ठहर हुने प्रहरीले बताएको छ । स्वाब एक सहायक सामग्री भएकाले बलात्कार गर्ने व्यक्तिको डिएनए छुटेको भएमात्रै परीक्षणबाट थाहा हुने जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीले बताए । उनले भने,  “शव परीक्षण रिपोर्टले कसरी मृत्यु भयो भन्ने कुराको प्रमाणित गर्छ ।”

शवको परीक्षण कार्य जिल्ला अस्पतालमा शनिबार गरिएको भए पनि अझै सार्वजनिक गरिएको छैन । शव परीक्षण गरिएको भए पनि रिपोर्ट तयार गर्ने काम अन्तिम चरणमा पुगेको उनको भनाइ छ । उनले भने,  “रिपोर्ट तयार गर्ने काम अन्तिम चरणमा छ, आज प्रहरीलाई बुझाउछौँ ।”

शव परीक्षण रिपोर्ट आएपछि धेरै कुरा थाहा हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शव परीक्षण भएको तीन दिनसम्म पनि आफन्तले भने शव बुझ्न मानेका छैनन् । बलात्कारपछि हत्या भएको र हत्यारा पत्ता नलाग्दासम्म शव नबुझ्ने भागरथीका काका शिवराज भट्टले बताए ।

उनले भने,  “वास्तविक हत्यारा पत्ता नलाग्दासम्म शव बुझने कुरै हुँदैन”, माघ २१ गते विद्यालय गएकी भागरथी साँझसम्म पनि घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते घर नजिकैको लबलेक जङ्गलमा विभत्स र निर्वस्त्ररुपमा मृत अवस्थामा फेला परेकी थिइन् । भागरथी दोगडाकेदार गाउँपालिका– ३ श्रीकोटस्थित सनातन धर्म माविमा अध्ययनरत रहेकी थिइन् ।

पाँच दिनसम्म पनि हत्यारा पत्ता लागेन

प्रहरीले घटनालाई गम्भीररुपमा लिएको बताए पनि घटना भएको पाँच दिनसम्म पनि हत्यारा पत्ता लगाउन सकेको छैन । घटनाको सुक्ष्म अध्ययन र अनुसन्धान भइरहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
नुसन्धान र अध्ययनका लागि हाम्रो माथिल्लो निकाय पनि परिचालन भएको छ उनले भने, “दोषीलाई पत्ता लगाउन हाम्रो सबै शक्ति लागिपरेको छ, छिट्टै पत्ता लाग्नेछ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!