अजय मण्डल
देवानगञ्ज, २ फागुन । सुनसरी देवानगञ्जको मधेशी हाट-बजार पुनर्सञ्चालनमा आएको छ । तीन वर्षदेखि स्थगित गाउँपालिका-४ को मधेशी हटिया आइतबारबाट फेरि लाग्न सुरु भएको हो ।
तीन वर्षअघि प्रहरी प्रशासनले व्यापारीसँग कमिसन माग्ने र नदिएको खण्डमा लिलामी गर्नेगरेकाे आरोप लगाउँदै व्यापारीले सो हाट स्थगन गरेका थिए । बाहिरका व्यापारीहरुले हटियामा खरिद-बिक्री गरेको गाई, गोरु बाटोमा नगदी रसिद देखाए पनि प्रशासनहरुले समातेर लिलामीसमेत गरेकोले हटिया स्थगन गर्नुपरेको चोपया हाट हटियाका अध्यक्ष बसिर मियाँले बताएका छन् ।

लामाे समयदेखि स्थगन भएको यो हटिया आजबाट पुनर्सञ्चालनमा आएको देवानगञ्ज गाउँपालिका-४ को अध्यक्ष चन्देश मेहता बताउँछन् । ‘यो हाट हटिया स्थानीय सरकारबाट टेन्डर भएर आएको हो । हामीलाई थाहा छ, हामीसँग प्रमाण पनि छन् । राजनीतिक र पार्टीगत हिसाबले गाईगोरु नेपालकै भए पनि आफ्नो पहुँचले लिलामी गरइरहेका छन्,’ उनले भने ।
यता, मधेशी हाट-हटिया अध्यक्ष मियाँले भने, ‘स्थानीय प्रशासनहरुलाई सोध्दा हामीलाई माथिबाट आदेश आउने र आफूहरु आदेश कार्यान्वयन गर्नुपर्ने बताउँछन् ।’
छिमेकी राष्ट्र भारतको दशगजादेखि करिब १ किलोमिटर नजिक रहेकाे सो हटिया हरेक आइतबार लाग्ने छ । हटियामा गाई, भैंसी, राँगा, गोरु, बाख्रा, परेवा, हाँस आदिको खरिद-बिक्री हुन्छ ।




