विराटनगर, ६ फागुन । आजदेखि तीन दिनसम्म राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ । विसं २००७ फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा प्रत्येक वर्ष मनाइने प्रजातन्त्र दिवस आजदेखि तीन दिनसम्म देशभर विविध कार्यक्रम आयोजना गरी मनाइने भएको हो ।
गत माघ २० गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले दिवस मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा मूल समारोह समिति गठन गर्ने निर्णय गरेको थियो । सो बैठकले दिवसका अवसरमा फागुन ६, ७ र ८ गते गरिने विभिन्न कार्यक्रमसमेत अनुमोदन गरेको थियो । समितिले अनुमोदन गरेअनुसार आजदेखि प्रजातन्त्र दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्न लागिएको हो ।
यस अवसरमा राज्यभर र विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासमा समेत हर्षोल्लासपूर्वक भव्यतासाथ मनाउन लागिएको छ । फागुन ७ गतेकै जगमा टेकेर विसं २०४६ चैत २६ गते प्रजातन्त्र पुनःस्थापना भएको थियो भने विसं २०६३ वैशाख ११ गते लोकतन्त्र प्राप्त भएको थियो । यसै पृष्ठभूमिमा विसं २०६५ जेठ १५ गते पहिलो संविधानसभाले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा स्थापित गरेको छ ।
दोस्रो संविधानसभाले विसं २०७२ असोज ३ गते संविधान घोषणा गरी कार्यान्वयन भएको छ । सबै परिवर्तनको जग फागुन ७ गतेको प्रजातन्त्र दिवस भएकाले पनि यसलाई विशेषरुपमा मनाउने गरिएको हो ।
तीनै दिन दीपावली गर्न सरकारको आह्वान
यस अवसरमा सरकारी एवं गैरसरकारी क्षेत्रबाट विभिन्न कार्यक्रम आयोजना हुने जनाइएको छ । सो अवसरमा आजदेखि तीन दिनसम्म दीपावली गर्न पनि सरकारले आह्वान गरेको छ । प्रजातन्त्र दिवसका अवसरमा गरिने कार्यक्रमको प्रचारप्रसार गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालको संयोजकत्वमा उपसमिति गठन गरिएको छ ।




