काठमाडौं, ६ फागुन । विवादास्पद अभिव्यक्ति दिएपछि उपराष्ट्रपति नन्दबहादुर पुन विवादमा तानिएका छन् । उनले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरी प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको भनेपछि उनको आलोचना सुरु भएको छ ।
उपराष्ट्रपति पुनले बुधबार काठमाडौंमा नेपाल पत्रकार महासंघको २६औं महाधिवेशन उद्घाटनका क्रममा उनले दिएको अभिव्यक्तिलाई संविधान र कानुनका जानकारले ‘विवादास्पद’ भनेका छन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको निर्णयविरुद्ध सार्वजनिक मञ्चमा उपराष्ट्रपतिले दिएको अभिव्यक्ति विवादास्पद भएको जानकारको ठहर छ ।
उनले भनेका थिए, ‘देश यति बेला राजनीतिक संकटको भुमरीमा छ। प्रतिनिधिसभा विघटन गरिएको छ र यसविरुद्ध प्रदर्शन भइरहेको छ । पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीश, संविधानविद्, नागरिक, पत्रकार र सबै राजनीतिक दलले प्रतिनिधिसभा विघटन असंवैधानिक भनिरहेका छन् । यो राम्रो संकेत होइन।’




