विराटनगर, २५ फागुन । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा प्रश्नपत्र गायब भएको विषय गुपचुप बनाएको भन्दै विद्यार्थी संगठनहरूले छानबिनको माग गरेका छन् । सोमबार विज्ञप्ति जारी गर्दै विद्यार्थी संगठनहरुले त्रिविको केन्द्रीय परीक्षा कार्यालयसँग छानबिन गर्न माग गरेका हुन् ।
अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, नयाँ शक्ति विद्यार्थी युनियनलगायत सातवटा विद्यार्थी संगठनले प्रश्नपत्र आउट गरेर त्रिविको परीक्षाको मर्यादामै आँच पुर्याएकोले केन्द्रीय कार्यालयबाटै निष्पक्ष छानबिन गरेर संलग्न सबैलाई कडा कारबाही हुनुपर्ने माग गरे ।
विद्यार्थी संगठनहरूले परीक्षा शाखा प्रमुख र कर्मचारीहरूलाई तुरुन्त बर्खास्त गरिनुपर्ने र घटनाको अनुसन्धान गरेर मितेमतोमा संलग्नहरू सबैलाई कानुनी कारबाही चलाउनुपर्ने माग गर्दै क्याम्पस प्रशासनलाई २४ फागुनमा ४८ घन्टे चेतावनी दिएका छन् ।
२३ फागुनमा सञ्चालन भएको विज्ञान संकायअन्तर्गत स्नातक तह तेस्रो वर्षको माइक्रो बायोलोजी विषयको परीक्षाको प्रश्नपत्रको एउटा बन्डल नै गायब भएको थियो । आइतबार सम्पन्न परीक्षाका लागि आएको माइक्रो बायोलोजी ३०३ विषयको २८ बन्डल प्रश्नपत्र ध्ये एक बन्डल गायब भएको थियो ।
प्रश्नपत्रको बन्डल नै गायब भएपछि आइतबार फोटोकपी गरेर विद्यार्थीलाई प्रश्नपत्र दिएर परीक्षा सञ्चालन गरिएको थियो । विद्यार्थीले परीक्षा शाखाका कर्मचारी र केन्द्राध्यक्षको मिलेमतोमा बन्डल नै गायब गरेर प्रश्नपत्र लिक गराएको आरोप लगाएका छन् । यता, मोरङ क्याम्पसका सूचना अधिकारी तथा परीक्षा शाखाका प्रमुख अधिकृत हरि तिम्सिनाले प्रश्नपत्र हराएको नभएर माइक्रो बायोलोजी ३०३ को ठाउँमा ३०२ विषयको प्रश्नपत्र आएकोले परीक्षा केन्द्रमा फिर्ता पठाएर तुरुन्तै थप प्रश्न प्रिन्ट गरेर वितरण गरी परीक्षा सञ्चालन गराएको बताए ।







