
विराटनगर, ८ वैशाख । जिल्ला प्रहरी कार्यालय मोरङले सुनको प्रलोभनमा परेर तीन महिनासम्म बन्धक बनाइएकी विराटनगरकी एक युवतीलाई उद्दार गरेको छ । विराटनगर–४ घर भएकी २४ वर्षीया एक युवतीलाई मंगलबार साँझ प्रहरीले भारत लैजाँदै गरिएको अवस्थामा उद्दार गरेको हो ।
यस्तै युवतीलाई तीन महिनासम्म बन्धक बनाएर भारत लैजाँदै गरेका विराटनगर महानगरपालिका–१९ का २५ वर्षीय दिनेश मण्डललाई प्रहरीले पक्राउ गरेको छ । सुनको प्रलोभनमा पारेर भारत लैजाँदै गरेको अवस्थामा मोरङ प्रहरीको टोलीले मण्डललाई विराटनरको सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको हो ।
मण्डलले गत माघ महिनामै युवतीलाई लिएर हिँडेका थिए । तर, बारम्बार प्रयास गर्दा पनि सीमा कटाउन असफल भएका उनी विराटनगरबाटै पक्राउ परेका हुन् । मोरङ प्रहरीका डिएसपी मञ्जिल मुकारुङका अनुसार मण्डलले सुनको प्रलोभनमा पारेर तीन महिनायता युवतीलाई बन्धक बनाएका थिए ।
गत माघ १० गते जिल्ला प्रहरी कार्यालय मोरङमा युवती हराएको भनेर उजुरी दिएका थिए । ‘तीन महिना विभिन्न नाकाबाट भारत प्रवेश गर्न खोजेको पाइयो’, डिएसपी मुकारुङले ‘ग्रामीण खबर’सँग भने, ‘अरूतिरबाट नसकेपछि विराटनगर नाकाबाट नै प्रयास गरेका बेला उनलाई पक्राउ गर्न सफल भएका हौँ ।’
उनका अनुसार घरपरिवारमा समेत सुन, चाँदीलगायतका बहुमूल्य धातुको लोभ देखाउँदै मण्डलले युवती लिएर गएका थिए । धामी–झाँक्रीको काम गर्ने बताउँदै उनले टुनामुना गरेर घरबाट सुन निकालिदिन्छु भन्दै युवती र उनका अभिभावकलाई प्रलोभनमा पारेका थिए ।
यता, प्रहरीले मण्डललाई पक्राउ गरेर अनुसन्धान थालेको छ । प्रहरीका अनुसार प्रहरीले आफूलाई खोजिरहेको थाहा पाएपछि मण्डलले उनलाई गोप्य ठाउँमा लुकाएको अनुसन्धानबाट खुलेको छ । मण्डल र युवतीबीच त्यसअघि कुनै पनि सम्पर्क एवं सम्बन्ध स्थापित भएको नदेखिएको प्रहरीले जनाएको छ ।
उनका अनुसार मण्डलले किन लगेका हुन् र यति लामो समयसम्म युवतीमाथि कस्तो व्यवहार गरे भन्ने वास्तविकता घटनाको अनुसन्धानपछि बाहिर आउने छ ।