
विराटनगर, ८ वैशाख । विराटनगरमा १८० बेडको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र सञ्चालनमै छ । तर, कोरोना नियन्त्रण आएसँगै निजी अस्पतालले सञ्चालन गरेको कोभिड–१९ उपचार केन्द्र गत पुस अन्तिम साताबाट बन्द भएको थियो । अहिले पनि विराटनगरको नोबेल मेडिकल कलेज, विराट मेडिकल कलेज र न्यूरो अस्पतालले सञ्चालन गरेको छुट्टै कोरोना अस्पताल बन्द अवस्थामा छन् ।
तर कोरोना भाइरस महामारीको दोस्रो लहर सुरु भएसँगै विराटनगरमा निजी अस्पतालमा पुनः कोरोना उपचार केन्द्र सञ्चालनमा ल्याउने तयारी भएको छ । संक्रमितको संख्या बढ्न थालेपछि विराटनगरका निजी अस्पतालमा पुनः कोरोना संक्रमितको उपचार सुरु हुने भएको हो ।
जिल्ला प्रशासन कार्यालयले निजी अस्पतालका कोभिड–१९ उपचार केन्द्र पुनः सञ्चालनमा ल्याउनका लागि निर्देशन दिने तयारी थालेको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले कोरोना रोकथामका लागि आज साँझ बैठक बस्ने तयारी भइरहेको जानकारी दिए । निजी अस्पतालका कोरोना उपचार केन्द्र सञ्चालन गर्न निर्देशन गर्ने तयारी थालेको बताउँदै उनले सोबाहेक कोरोना रोकथाम तथा नियन्त्रणका लागि अरू विषयमा पनि छफल हुने बताए ।
‘बैठक आज साँझ बस्ने तयारी छ । नभएमा भोलि बिहान बैठक बसेर विराटनगरमा निजी अस्पतालका कोभिड–१९ उपचार केन्द्र खोल्न निर्देशन दिनेछौँ,’ ग्रामीण खबरसँगको कुराकानीमा उनले भने । उनका अनुसार सङ्क्रमितको संख्यासँगै अस्पताल बस्नुपर्ने प्रकृतिका बिरामी बढ्दै गएका कारण निजी अस्पताललाई पनि तयारी गर्न निर्देशन दिइनेछ । कोभिडको स्थिति भयावह हुन नदिन अरू प्रशासनसँग छलफल चलिरहेको उनले बताए ।