२०८३ जेष्ठ १९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, २३ वैशाख । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले कमिसन नमिलेकै कारण कोरोना भाइरसविरुद्धको भ्याक्सिन रोक्नु लज्जास्पद भएकाे बताएका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत कोइरालाले प्रधानमन्त्री केपी ओली निकट व्यावसायीहरुले कमिसन नमिलेकै कारण खोप रोके खबरले लज्जित भएकाे बताएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिसिल्ड खोप उत्पादन गर्ने भारतको सिरम इन्स्टिच्युटको नेपाली एजेन्टबीच करिब ३५ करोड कमिसनमा कुरा नमिल्दा ५० लाख डोज खोप खरिद प्रक्रिया अघि नबढेको विवाद सतहमा आएको छ । खोप उत्पादन गर्ने कम्पनी सिरमसँग एजेन्टबिनै ५० लाख डोज भ्याक्सिन खरिद गर्न खोज्दा नेपाली एजेन्टले कमिसन माग गरेर प्रक्रिया नै अघि बढ्न नदिएको मन्त्रालयको दाबी छ ।

यो खबर बाहिरिएसँगै सरकारको चर्को आलोचना भइरहेको छ । यस्तैमा डा. कोइरालाले ओली निकट व्यावसायीहरु बिजय दुगड र रितु वैद्यले कमिसनकै कारण भ्याक्सिन रोकेको भन्ने खबरले लज्जित बनाएको बताए । कोइरालाले प्रश्न गरेका छन्, ‘महामारीको कहालिलाग्दो समयमा जनतामाथि यति ठूलो धोका ?’

उनले लेखेका छन्, ‘कमिसन नमिलेकै कारण प्रधानमन्त्री केपी ओली निकट व्यावसायीहरु बिजय दुगड र ऋतु वैद्यले कोरोना भ्याक्सिन रोकेको भन्ने खबरले लज्जित बनाएको छ। महामारीको कहालिलाग्दो समयमा जनतामाथि यति ठूलो धोका ?’

उनी अगाडि थप्छन्, ‘पहिलो चरणको महामारीका समयमा ठूलो आर्थिक चलखेल गरी प्रधानमन्त्री निकट ओम्नी समूहलाई स्वास्थ्य सामग्री खरिदको जिम्मा दिइएको थियो । देश र जनता कोरोना संक्रमणको महामारीमा रहेको समयमा स्वयं प्रधानमन्त्रीकै छत्रछायाँमा रहेका व्यावसायीहरुले जनस्वास्थ्य माथि गरेको यति ठूलो अपराध र बेइमानी कदापि क्षम्य हुन सक्दैन । यसको सबै जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ र समय आएपछि जनताले यसको हिसाब गर्नेछन् ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!