
काठमाडाैँ, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओेलीले संविधानानुसार आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न प्रस्तुत गरेको प्रस्ताव अस्वीकृत भएको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा उक्त प्रस्तावमाथि भएको मत विभाजनमा पक्षमा ९३ र विपक्षमा १२४ मत परेको थियो ।
बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले विश्वासको मतका लागि आवश्यक बहुमत नपुगेकाले प्रस्ताव अस्वीकृत भएको घोषणा गरेको थिए । त्यस्तै हुन्न भन्ने पक्षमा १५ सांसदले मतदान गरेका थिए । बैठकमा २३२ सांसद उपस्थित भएको सभामुख सापकोटाले जानकारी दिए ।
विश्वासको मतका पक्षमा सत्तारुढ दल नेकपा (एमाले) लाई अन्य दलले सहयोग नगरेका कारण प्रस्ताव अस्वीकृत भएको हो । एमाले संसदीय दलको निर्देशनलाई अवज्ञा गर्दै एमालेकै वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका सांसद मतदानमा अनुपस्थित रहेका कारण पनि विश्वासको मतका पक्षमा कम मत जाहेर भएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देन पनि कोभिड सङ्क्रमणका कारण अनुपस्थित थिए ।