
विराटनगर, ११ जेठ । रमपम चाउचाउ उत्पादक एशियन थाई फुड्स प्रालि, सोनापुरले औद्योगिक कामदारका लागि २५ लाख बराबरको राहत सामग्री उपलब्ध गराएको हो ।
मंगलबार एशियन थाई फुड्सले दुहबी नगरपालिकामार्फत सुनसरी–मोरङ औद्योगिक क्षेत्रभित्र काम गर्ने औद्योगिक कामदारहरूलाई २५ लाख मूल्यको २ हजार पोका राहत सामग्री उपलब्ध गराइएको निर्देशक राधेश्याम सारडाले जानकारी दिए । उनका अनुसार कम्पनीले प्रतिपरिवार ४–५ दिनसम्म पुग्नेगरी चामल, दाल। खाने तेल, नुन, चाउचाउ, बिस्कुट, भटमासको मस्यौरा, मास्कलगायतका राहत सामग्री उपलब्ध गराएको हो ।
‘कोरोना संक्रमणका कारण जारी निषेधाज्ञाका कारण विभिन्न उद्योग र कलकारखानामा काम गर्ने कामदारहरु बेरोजगार भइरहेका छन्’, उनले भने, ‘यसकारण आधाभन्दा बढी औद्योगिक कामदार अहिले खाए भरे के खानेको विवशताले पीडित भइरहेका छन् । यसले औद्योगिक कामदारलाई राहत पुर्याउने उद्देश्यले एशियन थाइ फुड्सले राहत उपलब्ध गराएको हो ।’
उक्त राहत सामग्री हस्तान्तरण कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक महेश जाजूले अक्सिजन, आइसोलेसन र भेन्टिलेटर नपाएर बिरामीको बिचल्ली भएजस्तै कतिपय कामदार भोकले पीडित हुने अवस्था आएकोमा नेपाली जनताबाट कम्पनीले हरप्रकारको साथ र सहयोग पाउँदै आएको हुँदा यस कठिन परिस्थितिमा कम्पनीले पनि जनताप्रति योगदान गर्न तयार रहेको तथा हात सधैँ खुल्ला राखेको बताए ।
परिसंघको समन्वयमा भएको उक्त राहत सामग्री हस्तान्तरण कार्यक्रममा परिसंघका अध्यक्ष भीम घिमिरे, एशियन थाई फुड्सका प्रशासकीय अधिकृत प्रकाशराज श्रेष्ठ, उत्पादन व्यवस्थापक समीर श्रेष्ठ, कम्पनी प्रतिनिधि हरि चौधरीलगायतले दुहबी नगरपालिका वडा नं २, ८, ९, १० र ११ का वडाध्यक्षहरु समेतको उपस्थितिमा दुहबी नगरपालिकालाई राहत हस्तान्तरण गरेका हुन् ।