
देवानगञ्ज, १५ जेठ । नेपाली कांग्रेस सुनसरी सभापति राजीव कोइरालाले देवानगञ्ज गाउँपालिकाका युवाहरुमार्फत कोरोना संक्रमितलाई सहयोग गरेका छन् । प्रदेश नम्बर १ नेपाली कांग्रेस संसदीय दलका नेता कोइरालाले शनिबार देवानगञ्ज गाउँपालिका वडा नं २ र ६ का संक्रमितलाई स्वास्थ्य सामग्री वितरण गरेका हुन् ।
केही सातादेखि कोरोना संक्रमितको घर-घर पुगेर स्वास्थ्य सामग्री वितरणको कार्य गर्दै आएका वडा नं ६ का युवाहरुमार्फत सभापति कोइरालाले सहयोग गरेका हुन् । ती युवाहरूले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको समन्वयमा वडामा होम आइसोलेसनमा रहेका संक्रमितहरुलाई वितरण गरिरहेका छन् ।
भगवान मण्डल नेतृत्वको युवाहरूको समूहलाई कोइरालाले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । कोइरालाले पाँच लिटर सेनिटाइजर, एक हजा ५०० थान सर्जिकल मास्क, पाँच थान अक्सिमिटर, २ सेट पिपिइ, २५ थान फेस शिल्ड, पाँच थान क्यान अक्सिजन र १० थान थर्मोमिटर हस्तान्तरण गरेका छन् । वडा नम्वर-६ का अध्यक्ष देवनारायण मेहताकाे राेहवरमा उनले युवाहरूलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरणपछि बोल्दै कोइरालाले संक्रमितलाई स्वास्थ्य सामग्री दिएर हाैसला बढाउन सफल युवाहरुको टिम उदाहरणीय भएकाे भन्दै उनीहरुकाे मनोबल अझ बढाउन सकेको सहयाेग गरेकाे बताए । महामारीका बेलामा सबैले सकेकाे सहयाेग गर्नुपर्ने उनको भनाइ छ । स्वास्थ्य सामग्री वितरण कार्यक्रममा जिल्ला सचिव केदार भण्डारी, वडा सभापति जवाहर मेहतालगायतकाे उपस्थिति रहेकाे थियाे ।
सुनसरीको सीमावर्ती क्षेत्रमा पर्ने वडा नं २ र ६ देवानगञ्ज गाउँपालिमा कोरोनाबाट सबैभन्दा धेरै प्रभावित वडा हुन् । त्यहाँ समुदायस्तरमै कोरोना फैलिएको देवानगञ्ज गाउँपालिका स्वास्थ्य शाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।