विराटनगर, ७ पुस । सुनसरीको दुहबी नगरपालिकाको आयोजना तथा प्रदेश १ सरकारको सहकार्यमा वृत्ति परामर्श उद्यम तथा रोजगार मेला सुरु हुनेभएको छ । मेला शुक्रबारदेखि सुरु हुने आयोजकले जनाएको छ ।
दुहबीमा ऐतिहासिक रूपमा मेलाको आयोजना गरिएको दुहबीका नगर प्रमुख वेदनारायण गच्छदारले जानकारी दिनुभयो । उहाँका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, प्रदेश नं १, मनमोहन प्राविधिक विश्वविद्यालय, नेपाल उद्योग परिसंघ प्रदेश नं १, नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घ, प्रदेश नं १, व्यवसायिक सीप तथा तालिम प्रदायक सङ्घ, मोरङ व्यापार सङ्घ, उद्योग सङ्गठन मोरङ, दुहबी उद्योग वाणिज्य सङ्घ र नेपाल सरकार तथा स्विजरल्याण्ड सरकारको द्विपक्षीय परियोजना–दिगो तथा सम्मानित रोजगारीका लागि सीप, आसमान नेपाल परियोजनाको सहकार्यमा मेलाको आयोजना हुँदैछ ।
दुहबीमा पुस ८ र ९ गते (शुक्रबार र शनिबार) स्थानीय सरस्वती माविको खेल मैदानमा सो मेलाको आयोजना गरिने गच्छदारले जानकारी दिनुभयो । समुन्नत दुहबी नगरपालिका निर्माणका लागि बेरोजगार युवालाई रोजगारी उपलब्ध गराउने, लघुउद्यमको माध्यमबाट परिष्कृत उद्यमशीलतामा प्रवर्धन गरी रोजगार र स्वरोजगारको अभिवृद्धि गराउने उद्देश्य लिई जनशक्तिलाई स्थानीय उद्योग, व्यवसाय, बैंकिङ्ग, पर्यटन, होटल व्यवसाय लगायतका क्षेत्रमा रोजगार उपलब्ध गराउन मेला सार्थक हुने आयोजकको भनाइ छ ।
मेलामा विभिन्न क्षेत्रबाट करिब १० हजारभन्दा बढीको सहभागिता रहने अनुमान आयोजकले गरेको छ । मेलाबाट विद्यार्थी, युवाले वृत्ति परामर्श सेवा प्राप्त गर्ने, बेरोजगार युवाहरूले विभिन्न उद्योग तथा व्यवसायमा रोजगारी प्राप्त गर्ने, श्रमसंसार मार्फत रोजगारी तथा सीपको अवसरको जानकारी प्राप्त गर्ने, आयोजकको भनाइ छ ।




