२०७९ माघ १५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

कञ्चनपुर, २६ पुस : बेदकोट नगरपालिका–८ का रणबहादुर मल्ल बिहानीको झिसमिसेदेखि झमक्क साँझ नपर्दासम्म स्थानीय जातको आलु स्याहार्नमै व्यस्त रहने गछन् । उमेर हदका कारण कृषि अधिकृतको पदबाट दुई वर्ष अघि सेवानिवृत्त भएका मल्ल हराउँदै गएको स्थानीय जातको थारु९घरैया० आलुको संरक्षणमा लागेकाछन् ।
उनको दिनचर्या आलुका बोट गोडमेल गर्ने, जैविक विषादी घरमै निर्माण गरी छर्कनेमा बित्ने गरेको छ । आलुका बोट पनि मेहनत गरेझै सर्लक्क बढेका छन् । उत्पादन चाहेअनुसारकै हुनेमा उनी ढुक्क छन् । “बढी उत्पादन लिने चाहनामा किसानले स्थानीय जातको आलु लगाउनै छाडे”, उनले भने, “उन्नत जातका आलु लगाउन छाडेपछि स्थानीय जातको आलु लोप हुने सङ्घारमा पुगेकाले जोगाउन प्रयत्न गरेको छु ।”
खानमा निकै स्वादिलो, रोगकीराको समस्या नहुने र लामो समयसम्म भण्डारण गरेर राख्दा पनि नकुहिने र बजार माग निकै रहेको आलुको महत्व नबुझ्दा किसानले लगाउन छाडेको उनी बताउँछन् । “किसानलाई स्थानीय जातको आलुको महत्व बुझाउँदै हिँडेको छु”, उनले भने, “चिनेजानेका साथीभाइ, आफन्त सबैलाई आलुखेती गर्न प्रेरित गर्दै आएको छु, आफूले यस खेतीलाई व्यावसायिक रुपमै अगाडि बढाएको छु ।”
स्थानीय जातको थारु आलुको व्यावसायिक उत्पादनका लागि उहाँले पाँच बिघा बढी जग्गा भाडामा लिएकाछन् । प्रति बिघाको रु बीस हजार वर्षको तिर्ने गरी उहाँले जग्गा भाडामा लिएका हुन् ।
उनले कृषि औजार र उपकरणको प्रयोग गरी आलु खेती गरेकाछन् । लागत खर्च घटाउनका लागि कृषि औजार र उपकरणको प्रयोगलाई बढावा दिइएको उनले बताए । “कृषि अधिकृत हुँदा किसानको खेतमा गएर रोगकीरा नियन्त्रणका उपायसँगै आधुनिक तरिकाले खेती गर्ने तरिका सिकाउँदै आएको थिएँ”, उनले भने, “सेवानिवृत भएपछि घरमै खाली समय व्यक्ति गर्नुभन्दा व्यावसायिक आलु खेतीमा संलग्न भएको छु ।”
गत वर्ष बेलौरी नगरपालिकामा तीन बिघा १० कठ्ठा जग्गामा उहाँले स्थानीय जातको आलु खेती गरेका थिए । उत्पादनप्रति बिघा दुई सय बोरीका दरले भएको उनले बताए । “खाने कार्यमा प्रयुक्त हुने आलु रु ५० प्रतिकिलो र बीउमा प्रयोग हुने आलु रु ८० प्रतिकिलोका दरले बिक्री भयो”, उनले भने, “तीन बिघा जग्गामा झण्डै रु चार लाख मूल्य बढीको आलु बिक्री भयो, स्थानीय जातको आलुको बजार माग उच्च भएपछि यसको क्षेत्र विस्तार गरेका छौँ ।”
यसवर्ष उनले बेदकोटको भमका र भीमदत्त नगरपालिका–२ भाँसीमा गरी पाँच बिघा जग्गामा आलु खेती गरेकाछन् । उन्ले आलु खेतीका लागि रु पाँच लाख लगानी गरेकाछन । “विदेशबाट फर्केका छोरालाई आलु खेतीमै संलग्न राखेर काम गर्दै आएका छौँं”, उनले भने, “विदेशभन्दा स्वदेशमै व्यावसायिक कार्य गरे बढी कमाउन सकिने भएकाले छोरालाई व्यावसायिक बनाउन लागेको छु ।”
स्थानीय जातको आलु रातो र सेतो गरी दुई प्रकारको रहेको छ । उन्नत जातको आलुको तुलनामा स्थानीय जातको आलुको दाना भने केही सानो हुने गरेको छ । “आलु रोप्दा कृषि औजार र उपकरणको प्रयोग गयौैैैेैै  खन्ने क्रममा पनि कृषि औँजार र उपकरणकै प्रयोग गर्ने योजना छ”, मल्लले भने, “मजदूर लगाउँदा धेरै ज्याला तिर्नुपर्ने भएको आधुनिक प्रविधिको प्रयोग गरे लागत खर्च घटाउन सकिन्छ ।”
आलु रोपेको पाँच महिनामा खेतबारीबाट खनेर बजारमा बेच्नका लागि तयार हुन्छ । खेतबारीबाट आलु खनेर बजारमा बिक्री गरेपछि खाली रहेको जग्गामा आधुनिक तरिकाले भटमास र मकैखेती गर्ने योजना उनको छ । उन्नत जातको आलु खेतीप्रति किसानको आकर्षण बढ्दै गएपछि स्थानीय जातको आलु लोप हुने सङ्घारमा पुगेको छ । सुदूरपश्चिम प्रदेश सरकारले दुई वर्षअघिदेखि स्थानीय जातको आलु उत्पादन गर्ने किसानलाई अनुदान दिन थालेपछि स्थानीय जातको आलु लगाउनेतर्फ किसानले चासो देखाउन थालेका छन् । थारु समुदायले यस आलुलाई घरैया आलुका नामले चिन्ने गरेका छन् ।
स्थानीय जातको आलु परम्परागत जैविक मलको प्रयोग गरी लगाइँदा एक कठ्ठामा एक क्वीन्टल बढी फल्ने गरेको छ । हाल यसको खेती आधुनिक तरिकाले हुन थालेपछि उत्पादन पनि बढदो रुपमा रहेको छ । उन्नत जातको उत्पादन बढी हुने भए पनि बजार मूल्य स्थानीय जातको आलुको तुलनामा निकै कम हुने गरेको छ ।
स्थानीय जातको आलु प्रति किलो बजारमा रु ६० मा बिक्री भइरहेको छ भने उन्नत जातको आलु रु २५ देखि ३० प्रति किलोका दरले बिक्री भइरहेको छ । महङ्गो भए पनि ग्राहकले स्थानीय जातकै आलुको बढी माग गर्ने गरेका छन् । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!