२०७९ माघ १५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

धनुषा,२७ पुस :  तीन दशकअघि धनुषाको मुख्य खाद्यान्न बाली कोदो (मडुवा) खेती अहिले लोप हुने अवस्थामा पुगेको छ । कोदो बालीलाई माडेर झारिने भएकाले मडुवा मात्रै भनेर पनि चिनिन्छ । व्यावसायिक खेती कम हुँदै गएपछि परम्परागत मुख्य खाद्यान्न बाली कोदो लोप हुने अवस्थामा पुगेको हो ।

तीन दशकअघि धनुषाको ढल्केबर, बटेश्वर, सखुवा महेन्द्रनगर, दिगम्बरपुर, धारापानी, लवटोली, गोदार, तुलसी, भरतपुरलगायतका गाविसमा कोदो खेती गरिन्थ्यो ।

स्वास्थ्यका लागि अत्यन्त उपयोगी मानिने कोदो बाली अहिले धनुषाको सीमित गाउँमा मात्र खेती गरिन्छ । रोटी र ढिँडोका लागि मात्र उत्तम ठानिने भए पनि अहिले स्वस्थ रहनका लागि भन्दै सहरी क्षेत्रका मानिसले यसका विभिन्न परिकार खाने गर्दछन् ।

तत्कालीन ढल्केबर गाविस हाल मिथिला नगरपालिका–६, का दानबहादुर खड्काले भन्नुभयो, “पहिले मुख्य खाना नै कोदाको रोटी, ढिँडो हुन्थ्यो तर अहिले मुख्य खाना भात भएकाले कोदो खेती विस्थापित भएको छ, । अहिले कोदोको रोटी, ढिँडोभन्दा भात नै खाने चलन नै भयो ।”

अहिले सहरी क्षेत्रमा यसको अत्यधिक माग भए पनि उत्पादन घट्दै गएको क्षीरेश्वरनाथ नगरपालिकाका किसान रामदेव यादवले बताउनुभयो । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ कृषि विकास अधिकृत वीरेन्द्रप्रसाद सिन्हाका अनुसार विस्थापित भएको बालीलाई दुई वर्षदेखि स्थापित गर्ने लक्ष्य राखे पनि सफल हुनसकेको छैन । कोदोको माग धेरै भए पनि खेती गर्ने किसान नभएपछि माग अनुसार जिल्लामै आपूर्ति गर्न नसकेको उहाँले बताउनुभयो ।

कोदोको महŒवका बारेमा थाहा नहुँदा कोदो खेतीप्रतिको आकर्षण घट्दै गएको हो । कोदोलाई औषधिका रूपमा समेत प्रयोग गरिनुका साथै निकै नै पोषिलो अन्नका रूपमा समेत लिइन्छ । अहिले कोदो देख्नै मुस्किल भएको मिथिला नगरपालिका पुष्पवलपुरका किसान गङ्गा महतोले बताउनुभयो ।

क्षीरेश्वरनाथ नगरपालिका–८, दिगम्बरपुरका किसान राजेश महतो गाउँघरमा हेपिएको खाद्यान्न अहिले सहर बजारतिर खोजीखोजी खान थालिएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पहिला पहिला खेतमा लटरम्म फल्ने कोदो अहिले औषधिका लागिसमेत भेटाउन मुस्किल भएको छ ।’’ धान, गहुँ र मकै जस्तै कोदोलाई किसानले महŒव नदिएका कारण लोप हँुदै गएको जेटिए ममता बलम्पाकीको कथन छ । बलम्पाकीले उच्च पहाडी भेगमा मुड्के र डल्ले, मध्यपहाडमा डल्ले र झाँप्रे तथा तराईमा झाँप्रे जातको कोदो उत्पादन गर्न सकिने बताउनुभयो । मुड्के जातको कोदो स्वादका हिसाबले अत्यन्त उत्तम मानिन्छ ।

किसानको आकर्षण घट्दै जाँदा जिल्लामै कोदो खेती लोप हुँदै गएको हो । धनुषाका अधिकांश क्षेत्रमा कोदोको उत्पादन राम्रो भए पनि किसानले हिजोआज खेती गर्न छाडेपछि विस्तारै गाउँघरमा कोदो खेती कम हुँदै गएको हो । किसानले खेती गर्न छाडेपछि अहिले बीउ पाउनसमेत मुस्किल हुन थालेको किसान बताउँछन् । केहीले फाट्टफुट्ट कोदो खेती गरेपनि घरायसी प्रायोजनका लागि मात्र गरेको पाइन्छ । पहिले जस्तो बिक्रीका लागि भनेर कोदो खेती गर्न किसानले छाड्दै गएका हुन् ।

बीस वर्षअघिसम्म पुष्पवलपुरका किसान श्याम गोलेले आफ्ना गाउँका सबै खेतबारीमा कोदो लगाउने गर्नुहुन्थ्यो । कोदोको उत्पादन पनि राम्रै हुन्थ्यो तर पछिल्ला समयमा उहाँले कोदोको व्यावसायिक खेती विस्तारै छाड्दै जानुभएको छ । “कोदो खेतीमै निर्भर भएर खेती गर्न किसानले छाडिसकेका छन्, हिजोआज बरु बाख्रापालन, तरकारीलगायतका नगदे बाली, फलफूल खेतीतर्फ किसान आकर्षित हुन थालेका छन्”, उहाँले भन्नुभयो ।

कम मेहनतमा उत्पादन बढी हुने र पोषणयुक्त खाद्यान्न बालीभित्र पर्ने भए पनि कोदो खेती लोप हुने अवस्थामा पुगेको वटेश्वर गाउँपालिका–५, शान्तिपुरका किसान अमरबहादुर थिङ बताउनुहुन्छ । उहाँले पहिलेपहिले पाँच मुरीसम्म कोदो उत्पादन गरेको स्मरण गर्दै अहिले लगाउनै छाडेको बताउनुहुन्छ । “धेरै दुःख गर्न नपर्ने कोदो पाकेपछि घरमै खरिद गर्न व्यापारी आउँथे, दुई÷चार पैसा पनि हुन्थ्यो अहिले त कोदो लगाउने जमिन वनमाराले भरिन थालेको छ”, उहाँले भन्नुभयो ।

परम्परागत रूपमै कोदोको ढिँडो, रोटी, पुवा र खोले बनाएर खाने चलन छ । सहर बजारमा कोदोको सुप बनाएर खाने गरिन्छ । कोदोबाट बिस्कुट, पाउरोटी जस्ता बेकरी बनाइन्छ । जाडोयाममा मरमसला वा मासु मिसाएर खोले खाने चलन छ । कोदो बालबालिकाका लागि सबैभन्दा उत्तम मानिन्छ । प्राथमिक स्वास्थ्य केन्द्र महेन्द्रनगरका सिनियर अहेव अशोक साहले कोदो पोष्टिक आहारको रूपमा सबैभन्दा राम्रो बाली भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “कोदोको महŒवका बारेमा थाहा नहुँदा कोदो खेती गर्ने चलन हराएको हो । उच्च रक्तचाप र मधुमेहका बिरामीका लागि कोदो उत्तम मानिन्छ ।”

कोदो खानाले यसमा भएको क्याल्सियमले गर्दा वृद्ध र बालकलाई चाहिने प्राकृतिक क्याल्सियमले गर्दा हाड मजबुत बन्न मद्दत पुग्छ । कोदोमा पाइने क्याल्सियम, फलाम, प्रोटिन रेशाको धनीको रूपमा लिइन्छ । यसले बोसोको मात्रा कम गराउँछ । मुटु, कलेजो र उच्च रक्तचाप भएका मानिसका लागि यो राम्रो खानाको रूपमा लिइन्छ । कम सिँचाइ, मल, मेहनतको प्रयोगले उत्पादन बढी लिन सकिने भए पनि कोदो खेतीको संरक्षण र जगेर्ना गर्नेतर्फ सम्बन्धित निकायले पहल गर्नुपर्ने देखिन्छ ।

कृषिविज्ञ डा। श्रीभगवान् ठाकुरका अनुसार कोदो नेपालमा अन्न बालीमा धान, गहुँ, मकै पछिको चौथो स्थानमा पर्छ । यो बाली प्राचीन समयदेखि खाद्यान्नको रूपमा देखिँदै आएको छ । कोदो खेती घट्दै गए पनि यसमा पाइने क्याल्सियमलगायत हाम्रो शरीरलाई चहिने महŒवपूर्ण तत्वहरू पाइने हुनाले यसको माग सहरमा बढ्दो छ । कोदो उत्पादनमा नेपाल विश्वको १५औँ स्थानमा पर्छ । कोदो उत्पादन गर्ने देशमा भारत, चीन, युगान्डा, नेपाललगायत पर्छन् । विश्वको कुल उत्पादनको एक प्रतिशतमात्र नेपालले उत्पादन गर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!