२०८३ बैशाख ८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ, १९ माघ । नेपाल कृषि अनुसन्धान परिषद्लगायतका निकायले विभिन्न ७७ बालीका ६८७ जातका बीउ उन्मोचन गरी सिफारिस गरेका छन् । त्यसमध्ये ३९ प्रकार तरकारीको ३५३ जातका सिफारिस भएका छन् । सबैभन्दा बढी काउलीको ५३ वटा जात सिफारिस भएका छन् ।

मुलाको १८, सलगमको तीन, रायो सागको आठ, आलुको १६, प्याजको आठ, गोलभेँडाको ३६, गाजरको पाँच, बन्दाको ३६, तनेबोडीको नौ, घीउ सिमीको तीन, केराउको तीन, भेँडे खुर्सानीको १८, भण्टाको आठ, घिरौलाको आठ, काँक्रोको ३८, स्क्वासको १३, स्वीस चार्टको एक, तिते करेलाको २३, रामतोरियाको तीन, पालुुङ्गेको छवटा जातका बीउ सिफारिस भएका छन् ।

त्यस्तै, ब्रो काउलीको आठ, तर्बुजको तीन, फर्सिको एक, लौकाको चार, पाटे घिरौलाको दुई, धनियाँको पाँच, चिचिन्डाको एक, कुुरिलोको एक, पार्सलेको एक, ग्याठकोबीको दुई, पाकचोय तीन, जिरी सागको तीन, चुुकुुन्दरको एक, चाइनिज बन्दाको तीन, चन्सुरको एक, लट्टेको एक र सिमीको दुईवटा जातका बीउ सिफारिस भएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतका बीउबिजन निर्देशनालयका अनुसार सबैभन्दा पहिले २०४६ मा काउली तरकारीको बीउ सिफारिस भएको थियो ।

११० देखि १२० दिनमा टिप्न सक्ने ती जातको बीउ लगाउन प्रतिहेक्टर २५ मेट्रिकन टन उत्पादन हुन्छ । ती बीउ तराई, पहाड तथा उच्च पहाडी जिल्लाका लागि सिफारिस भएका छन् । काउलीमै २०६७ मा सालमा सिफारिस भएको ऐन २२, एफ १ जातको काउलीको बीउ लगाएमा प्रतिहेक्टर ६० मेट्रिक टन उत्पादन हुने विज्ञकोे भनाइ छ ।
यो जातको काउली मध्यपहाड र तराईका लागि सिफारिस गरिएको छ ।

काउलीको ह्वाइट एफ १ जातको बीउमध्ये पहाडका लागि मात्र सिफारिस गरिएको छ भने अरू बाँकी सबै तराईलाई पनि हुने गरी सिफारिस गरिएको निर्देशनालयले जनाएको छ ।

आलुका लागि २०४९ कुफ्री ज्योति, कुुफ्री सिन्दुरी, डिजिरे जातका बीउ २०४९ सालमा सिफारिस भएको थियो । कुुफ्री ज्योती जातका बीउ पहाडमा वर्षे बालीका लागि माघ, फागुन र चैत, हिउँदेबालीका लागि असोज र कात्तिकमा तथा कम वर्षा हुने पश्चिमका उच्च पहाडका लागि असार र साउनका लागि सिफारिस गरिएको छ ।

कुफ्री सिन्दुरी जातको बीउ प्रयोगमा ल्याएमा प्रतिहेक्टर २३ मेट्रिक टन उत्पादन हुने निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ । यो जातको बीउ तराईमा हिउँदे बालीका रूपमा, असोजदेखि मङ्सिरसम्म र तल्लो पहाडी भेगमा कात्तिकदेखि पुससम्म लगाउन सकिने रिफारिस गरिएको छ ।

मूलाका लागि मिनोअर्ली जातको बीउ २०४६ सालमा सिफारिस गरेको थियो । तराई, पहाड र उच्च पहाडको सिञ्चित भूमिका लागि सिफारिस गरिएको सो जातको बीउ एक हेक्टरमा २६ टन उत्पादन दिने दिने निर्देशनालयले जनाएको छ । २०५१ सालमा सिफारिस भएको ह्वाइट नेक, प्युठाने जातको बीउ मध्यपहाडका लागि उपयुक्त रहेको बताइएको छ ।

प्याजका लागि आठवटा जात सिफारिस भएका छन् । त्यसमा रेड क्रियोल जातका बीउ २०४६ सालदमा सिफारिस भएको थियो । त्यो प्रतिहेक्टर १५ टन मात्र उत्पादन हुने बताइएको छ । एउटा बीउ सिफारिस गरेपछि लामो समयसम्म ग्याप रह्यो । एकै पटक २० वर्षपछि अर्थात् २०६६ सालमा चारवटा जातका बीउ तराई र पहाडका लागि सिफारिस भएको थियो । त्यसपछि २०६८ मा नासिक ५३ जातको बीउ आयो ।

त्यो तराई र मध्यपहाडका लागि सिफारिस गरिएको थियो । त्यसपछि २०७७ मा बैतडी स्थानीय जातको बीउ उन्मोचन गरी सुदूरपश्चिम प्रदेशको एक हजारदेखि दुई हजार मिटरको उचाइसम्मका लागि सिफारिस गरिएको थियो । बन्दाको बीउ २०५१ सालदेखि मात्र सिफारिस हुन थालेको छ । पहिलो पटक कोपनहेगन मार्केट जातको बीउ तराई र मध्यपहाडका लागि सिफारिस गरिएको छ । सबैभन्दा बढी २०६६ सालमा १६ वटा बीउ सिफारिस गरिएको छ ।

सूचीबाट हटाइएको

काउलीका १०, मूलाका तीन, प्याजका एक, गोलभेँडाका सात, गाजरका एक, बन्दा पाँच, खुर्सानीका दुुई, भन्टाका एक, घिरौलाका एक, काँक्रो १०, तिते करेलाका छ, ब्रो काउलीका तीन, लौकाका एक, चिचिन्डाका एक, पार्सलेका दुुई, पाटे घिरौलाका एक, पाकचोयका एक र चाइनिज बन्दाका दुुईवटा जातको बीउ सिफारिसको सूचीबाट हटाइएको छ ।

लगातार तीन वर्षभन्दा बढी अवधिसम्म व्यापारी तथा किसानले आयात नगरेका कारण यी जातहरूलाई सिफारिसको सूचीबाट हटाइएको निर्देशनालयले जनाएको छ । सूचीबाट हटाइएका सबै जात २०६६ देखि २०७० सम्ममा सिफारिस भएका थिए । तरकारीको बीउ सबभन्दा बढी २०६६ सालमा नै सिफारिस भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!