२०८३ बैशाख ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विनोद मेहता
विराटनगर, फागुन २९ । सुनसरीको देवानगञ्ज–२ घर भएका सदानन्द मेहता दिनभरि खेतीको काममा व्यस्त रहन्छन् । हामी उनलाई भेट्न देवानगञ्ज पुग्दा उनी खेतमै थिए । एक जना खेतालाका साथमा उनी खेतमा पानी पटाउँदै थिए ।

देवानगञ्ज गाउँपालिकामै सबैभन्दा धेरै गाँजरको खेती गर्ने सदानन्द अहिले गाँजरका साथै बैगुन लगाउने तयारीमा छन् । सानैदेखि खेती किसानी गर्दै आएका उनले विगत केही वर्षयता स्थानीय अस्रुद्धिन अन्सारीको दुई बिगाहा खेती लिजमा लिएका छन् । लिजमा लिएको जग्गाबाट वार्षिक ६० हजार बुझाउँछन् ।

लिजमा लिएको जग्गामा गाँजर खेती गर्दैछन् । त्यसबाहेक आफ्नौ १४ कठ्ठामा मकै, केरालगायत बाली लगाएका छन् । केही खेतमा काँक्रा लगाउने तरखरमा रहेका सदानन्दले पम्पसेटमार्फत सिचाइँ गर्नुपर्दा खर्चिलो भएको गुनासो गरे ।

गाउँपालिकाले पनि अर्ध अनुदानमा पम्पसेट दिएको उनले बताए । २८ हजार रुपैयाँमा ल्याएको पम्पसेटमा उनको १४ हजार परेको छ । गाउँपालिकाले आधी अर्थात् १४ हजार रुपैयाँ हालिदिएको हो ।

‘यहाँ पैनीको सुविधा छैन,’ उनले भने, ‘पम्पसेट प्रयोग गर्नुपर्ने भएकाले केही हदसम्म खर्चिलो हुन्छ तर काममा सहजता आएको छ । तर छुट्टा–छुट्टै ठाउँमा मेरो खेत भएका कारण अलि झन्झटिलो पनि छ ।’

कृषिबाटै छोरा–छोरीलाई बोर्डिङ स्कुल पढाउँछन्

सदानन्दले पढ्न पाएनन् । सदानन्दले सामान्य लेखपढ मात्र गरेका छन् । खेतीको काम गर्नुपर्ने भएका कारण विद्यालय जान नपाएका उनी त्यसबेला पढ्न नपाएकोमा खिन्नता प्रकट गर्छन् । तर आफ्ना सन्तानलाई भने उनले बोर्डिङ स्कुलमा पढाएका छन् ।

उनका एक छोरा र दुई छोरी छन् । जेठी छोरी भने अहिले क्याम्पस पढ्ने भइसकेकी छन् । उनलाई सदानन्दले छ कक्षासम्म बोर्डिङ स्कुलमा पढाएका थिए । अहिले एक छोरा र एक छोरी बोर्डिङमै अध्ययनरत छन् ।

‘यकिन आम्दानी राख्ने गरेको छैन’, उनी भन्छन्, ‘तर जीवनयापन राम्रो छ । आफूले पढ्न नपाए पनि छोरा–छोरीलाई खर्च गरेर राम्रो स्कुलमा पढाएको छु । यो सब व्यवसायिक खेतीका कारण सम्भव भएको हो । पहिले धान–गहुँ लगाउँदा कठिन नै हुन्थ्यो । अहिले तरकारीलगायत बालीले उकासेको छ ।’

बजारका लागि समस्या छैन

सदानन्दलाई आफूले उत्पादन गरेको उपजहरु बजार पुर्याउन भने समस्या छैन । ब्यापारी खेतमै आउनेगरेका कारण उपज बेच्न समस्या नभएको उनी बताउँछन् । उनी आफैँ पनि आफूले उत्पादन गरेका उपज बेच्न स्थानीय हटिया पुग्छन् ।

उनी भन्छन्,‘आफैँ पनि बेच्न बजार जान्छु । यसैले पनि उत्पादित उपजका लागि बजारको समस्या छैन । फेरि ब्यापारी खेतैसम्म आउँछन् ।’

छ जनालाई रोजगारी

सदानन्दले कषि पेशाबाट आफ्नो जीविकोपार्जन मात्र गरेका छैनन्, गाउँकै छ जनाको समेत चुल्हो बाल्ने काम गरेका छन् । उनको खेतमा काम गर्न गाउँकै छ जना आउँछन् । उनीहरूबाट वर्षभरि नै सदानन्दले सहयोग पाउँछन् ।

‘सबैको काम सधैँ न भए पनि उनीहरू मैरैमा काम गरेर आफ्नो चुल्हो बाल्छन्,’ उनले भने, ‘दिनभर काम गर्छन् । मलाई सघाउँछन् । सबैको सहयोग पाएर सफल भएको छु ।’

स्थानीय सरकारबाट सहयोग नपाएको गुनासो

सानैदेखि कृषि पेशा अँगालेका सदानन्दले आफ्नो कर्मलाई निरन्तरता दिइरहेका छन् । तर स्थानीय सरकार बनेको यतिका वर्ष बित्दा पनि त्यहाँबाट सहयोग पाउन सकेका छैनन् । कृषि मन्त्रालयमार्फत आउने विभिन्न अनुदानहरू आफ्नो पहुँचभन्दा बाहिर रहेको उनको गुनासो छ ।

‘सरकारले विभिन्न अनुदान पठाएको समाचारमा मात्र सुनिन्छ कार्यान्वयनमा शून्य छ । मलाई लाग्छ, माथि–माथिबाटै बजेट सकिन्छ । अथवा पहुँचयोग्य मान्छेले खान्छन् । नत्र मेरो मकै फौजी किराले सखाप पारिदिँदा पनि स्थानीय सरकारले केही सहयोग किन गरे ?’, उनको प्रश्न छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!