
विराटनगर, २३ असोज । इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदराबादले किंग्स इलाभेन पन्जाबमाथि शानदार जित निकालेको छ । बिहीबार दुबई रंगशालामा भएको खेलमा हैदराबादले पञ्जाबलाई ६९ रनले हराएको हो ।
हैदराबादले दिएको २०२ रनको लक्ष्यसहित ब्याटिङमा उत्रिएको पञ्जाबले १६.५ ओभरमा अलआउट हुँदै १३२ रन मात्रै बनाउन सक्यो ।
पञ्जाबका लागि निकोलास पुरनले ७७ रनको अर्धशतकीय पारी खेल्दा पनि टोलीको हार टार्न सकेनन् । यस्तै कप्तान केएल राहुल र प्रभसिम्रन अग्रवाल ११ रनमै आउट हुँदा अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
पञ्जाबलाई सस्तैमा समेट्न रशिद खानले ३ विकेट लिँदा खलील अहमद र टी नटराजनले २–२ विकेट लिए । अभिषेक शर्माको नाममा एक विकेट रह्यो ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०१ रन बनाएको थियो ।
हैदराबादका लागि जोनी बेरस्टो र कप्तान डेभिड वार्नरले अर्धशतकी इनिङ्स खेले । बेरस्टो शतक बनाउनबाट मात्र तीन रनले चुके । ५५ बल खेलेका उनले ७ चौका र ६ छक्काको सहायतामा ९७ रन बनाए ।
कप्तान वार्नरले ४० बल खेल्दै ५ चौका र एक छक्काको मद्धतामा ५२ रन जोडे । केन विलियमसनले अजिवत २० रन जोड्दा अभिषेक शर्माले १२ रन बनाए ।
पञ्जाबका रवी बिस्नोयीले ३ विकेट लिँदा र अर्शदीप सिंहले २ विकेट लिए । यस्तै मोहम्मद शामीले १ विकेट झारे ।
जितसँगै हैदराबाद छ खेलबाट ६ अंक बनाउँदै तेस्रो स्थानमा उक्लिएको छ । पञ्जाब भने समान खेलबाट २ अंकसहित पुछारमा छ ।