विराटनगर, १२ चैत । पिडारलाइ पिडारबाहेक पिरार,पेरार,पेडार नामले पनि चिनिन्छ । पूर्वदेखि पश्चिम तराई क्षेत्रमा पाइने रैथाने प्रजातीको महत्वपूर्ण वनस्पति हो । यसको प्रयोग प्राचीन कालदेखि बहुबर्षिय पौष्टिक तरकारीको रुपमा गरिदै आइरहेको छ । तथापि पछिल्लो समय यो लोप हुने प्रक्रियामा छ ।
पिडारको वैज्ञानिक नाम Trewia nudiflora हो । पिडार Euphorbiaceae परिवारअन्तर्गत पर्दछ । विशेषगरी आदिवासी (थारू, राजवंशी) तथा मधेसी समुदायले पिडारको फूल तथा फल (काँचो) अचार,पकौडा र तरकारीका रूपमा प्रयोग गर्ने गर्दछन् ।

पहिला हरेकको बारी,बगैंचामा १-२ बोट हुन्थ्यो र दिनहुँ तरकारीको रूपमा प्रयोग गरिन्थ्यो यसको महत्त्व नबुझेर मासिँदै गएको छ । पिडारले तराईको हावापानी रुचाउँछ। घरबगैंचामा दोमट माटोदेखि लिएर रूखो, सुख्खा र सेपिलो जग्गामा पनि लगाउन सकिन्छ। यो विशेष गरी घरबगैंचाको खेर गइरहेको जमिनमा लगाउन सकिन्छ ।
यसको फल काँचोमा हरियो र पाकेपछि पहेंलो रङको हुन्छ । यो वैशाखमा फुल्छ भने असारदेखि भदौसम्ममा फल टिप्न तयार हुन्छ। पौष्टिक तत्वले भरिपूर्ण पिडारमा फोस्फोरसको उच्च मात्रा पाइन्छ र धेरै रोगहरुमा औषधिको रुपमा समेत प्रयोग गरिन्छ ।

विशेषगरी पश्चिम तराईका आदिवासी समुदायमा, जेठो छोराले जेठ महिनामा पिडारको तरकारी,अचारको अथवा स्वाद लिएको हुनपर्छ भन्ने परम्परागत मान्यता रहेको पाइन्छ । यसलाई घरबरिपरिको जमिनमा, कम मिहिनेत र कम लगानीमा लगाई राम्रो उत्पादन लिन सकिन्छ । यसको फल अन्य तरकारीहरू नहुने समयमा पाइने हनाले घरबगैंचाका लागि विशेष महत्त्व राख्छ ।
स्थानीय तरकारी हाटबजारमा यसको विक्रीवितरण पनि प्रशस्त मात्रामा हुने गर्दछ । पिडारको फलको गुदी हिलोले खाएको घाउमा औषधीका रूपमा प्रयोग गर्ने गरेको पाइन्छ ।




