२०८३ बैशाख ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सन्तोष मेहता
सुनसरी, १२ चैत । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका कमलानन्द मेहता लामो समयदेखि कृषि पेसामा आवद्ध छन् । २०४७ सालमा नेपाल प्रहरीमा प्रवेश गरेका मेहता २०५९ सालमा प्रहरी हवल्दार भएका थिए । प्रहरी हवल्दार भएपछि उनले जागिर त्याग्ने निधो गरे र कृषि पेशामा होमिए ।

प्रहरीबाट किसान बनेका मेहता अहिले पनि खेतबारीमै व्यस्त हुने गरेका छन् । आठ सय ९० रुपैयाँबाट जागिर सुरु गरेको सुनाउँदै उनले भने, ‘मासिक एघार हजार पुगेको भए पनि जागिर छाडेर कृषि पेसामै आबद्ध भएँ ।’जति धेरै मिहिनेत गर्‍यो उति नै आम्दानी गर्न सक्ने भएका कारण कृषि पेशा रोजेको उनले बताए ।

मेहताले आफ्नो दुई बिघा र अन्य एक बिघा भाडामा लिएर तीन बिघा जमिनमा मौसमअनुसारको खेती गर्दै आएका छन् । यो समय उनले खेतबारीमा मकै, गँहु, सूर्यमुखी, काँक्रा, लौका, लसुन, पिँडालु, कागती, साग, फर्सीलगायतका तरकारी साथै नगदेबाली लगाएका छन् ।

डेढ बिघामा मकै लगाएका उनले पन्ध्र कठ्ठामा गहुँ र अन्य जमिनमा विभिन्न तरकारी लगाएका छन् । गत वर्ष लकडाउनका कारण करिब चार लाख नोक्सानी व्यहोरेका मेहता यसपटक भने पाँच लाख आम्दानी गर्ने आशमा छन् । लगानी पनि धेरै लाग्ने भएकाले यसपटक भने नोक्सानी व्यहोर्न नपरोस् भन्ने मेहताको कामना छ । कृषि पेसामा आवद्ध भएको लामो समयको अनुभव सुनाउँदै मेहता भन्छन्, ‘कुनै महिना लगानी मात्रै आउँछ, कहिले मासिक ५० हजारसम्म पनि आम्दानी हुनेगरेको छ ।’

वार्षिक रूपमा ३ देखि ४ लाखसम्म आम्दानी हुनेगरेको उनले बताए । अहिले काँक्रा प्रतिकेजी ३०–५०, बन्दा प्रतिकेजी ५–७, फर्सी प्रतिकेजी २०–४०, आलु प्रतिकेजी १८–२० सम्ममा बिक्री हुनेगरेको उनले बताए । होलसेलमा बेच्दा कम र हटियामा लगेर बेच्दा अलिक बढी नाफा हुने गरेको छ ।

भोक्राहा १ कै प्रकाश कार्की पनि कृषि पेसामै आवद्ध छन् । करिब २ बिघा जमिनमा तरकारी खेती गरेका उनले चार कठ्ठामा मकै र पन्ध्र कठ्ठामा गहुँ लगाएका छन् । समयमा बिउबिजन र मल प्राप्त गर्न सकेको अवस्थामा साथै सिँचाइ गर्न पाएमा एकपटकमा एक कठ्ठाबाट ३० हजारसम्मको तरकारी उत्पादन हुने गरेको उनले सुनाए ।

अर्का कृषक शिवनारायण मेहताले दुई बिघामा मकै, डेढ बिघामा विभिन्न तरकारी र गहुँ लगाएका छन् । सिजनअनुसार उनले खेतबारीमा विभिन्न तरकारी लगाउने गरेका छन् । उनले दैनिकजसो ताजा तरकारी इनरुवाको बजारसम्म पुर्‍याउने गरेका छन् ।

बिउबिजन, मलखाद र श्रमिकको खर्च कटाएर मासिक ३० हजारसम्म आम्दानी गर्ने गरेको उनले सुनाए । तर अहिले पनि कृषकलाई धेरै समस्या रहेको उनको भनाइ छ । ‘अहिले मकैमा सिँचाइ गर्ने समय भएको छ,’ मेहताले भने, ‘नहरबाट जानकारीबिना नै पानी रोकिएको छ ।’ समयमा सिँचाइ गर्न सकिएन भने मिहिनेतमात्रै खेर जाने अवस्था आएको भन्दै मेहताले भने, ‘खनारमा पुल निर्माणको कारण पानी बन्द हुन्छ भन्ने सुनिएको छ, अगाडि नै जानकारी गराएको भए हामीले अन्य विकल्प सोच्न सक्थ्यौँ ।’

धान बेचेर मकैमा लगानी गरेको तर मकै नै भएन भने घाटा व्यहोर्न बाध्य हुनुपर्ने उनले बताए । भोक्राहामा उत्पादन भएको कृषिउपज स्थानीय बजारमा नै खपत हुँदै आएको छ । त्यहाँका कृषकले आफूले उत्पादन गरेको सामग्री इनरुवा, चक्रघट्टी, कालाबन्जर, राजावास, बाङ्गेलगायतका बजारमा पुर्‍याउने गरेका छन् ।

बजारको समस्या नभए पनि खाद मल, बिउबिजनको भने समस्या भएको कृषकको गुनासो छ । समयमा सहज तरिकाबाट खाद मल, बिउबिजन उपलब्ध गराएको खण्डमा थप हौसला प्रदान हुने उनीहरूको भनाइ छ ।

गाउँपालिकाप्रति असन्तुष्ट

गाउँपालिकाले अनुदानमा आएका सामान पनि वास्तविक कृषकसम्म पुर्‍याउन नसकेको उनीहरूको गुनासो छ । जसको पहुँच छ उसैलाई मात्रै दिने गरेको तर जो वास्तविक किसान छ उसलाई अनुदानका सामानको बारेमा थाहासमेत नदिने गरेको शिवनारायण मेहताले बताए ।

उनले भने, ‘जो मेयर, उप–मेयरको अगाडि–पछाडि लाग्छ, उसैलाई दिन्छन् तर वास्तविक कृषकसम्म जानकारी नै आइपुग्दैन ।’ गाउँपालिकाले वास्तविक कृषकको पहिचान गरेर अनुदान सामान वितरण गर्ने हो भने केही राहत मिल्ने अर्का कृषक कमलानन्द मेहताले बताए । गाउँपालिकाबाट कृषिका सामग्री पाएको अवस्थामा वास्तविक कृषकलाई राहत र थप हौसला मिल्ने अर्का कृषक प्रकाश कार्कीले बताए ।

विभिन्न समयमा बालीनालीमा कीरा लागेर नष्ट हुने गरेका कारण पनि कृषकलाई समस्या हुनेगरेको छ । कृषक कामेश्वर यादव भन्छन्, ‘बालीमा कीरा वा रोग लागेको अवस्थामा यही विषदी लगाउनु भनेर जानकारी दिने विज्ञ व्यक्तिलाई गाउँपालिकाले कृषकको खेतबारीसम्म पठाउने वातावरण सिर्जना गरेको खण्डमा सहज हुनेथियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!