२०७८ बैशाख ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

देवानगञ्ज, २४ चैत । सुनसरीको देवानगञ्ज–२ का २० वर्षीय सञ्जयकुमार मेहता उमेरले कलिलै छन् । तर, उनमा जोश र जाँगर भने भरिपूर्ण छ । स्थानीय दिब्याज्योति मन्दिरमा कक्षा दसमा पढ्दै गरेका सञ्जय प्रायःजसो कागतीबारी र आफ्नो बिउ तथा विषादी पसलमा देखिन्छन् ।

कहिले साइकल तथा कहिले मोटरसाइकलमा उनी घरदेखि पसल र पसलदेखि घर धाउँछन् । त्यसबाहेक उनी बिहानीपख स्कुल पुग्छन् । स्कुलबाट फर्किएपछि उनी कागतीको स्याहारमा लाग्छन् । त्यस काममा सञ्जयलाई आमा श्याममति मेहताको साथ र सहयोग रहन्छन् ।

सञ्जयका बाबु भने छैनन् । उनको तीन वर्षअगाडि उनको निधन भएको थियो । सञ्जयले स्याहार्दै गरेको कागतीबारी उनका बुबाले सुरु गरेका थिए । बुबाले देवानगञ्ज बजारमा बिउ तथा विषादी पसल पनि गर्दैआएका थिए । दस वर्ष अगाडिदेखि बुबाले दुवै कुरा ।

तर, बुबा संसारबाट बिदा भएपछि सञ्जय र दाजु ओमप्रकाशले कागतीको व्यवसायिक खेती अनि पसल सम्हाल्दै आएका छन् । ओमप्रकाशले १२ पढेका छन् । उनी पनि भाइ सञ्जयसँग कागती र पसलमा सहकार्य गर्छन् ।

उमेरले सानै भए पनि सञ्जय ठूला मानिसजस्तै सोच्छन् । गरे देशमै कमाउन सकिने उल्लेख गर्दै उनी भन्छन्, ‘बुबाले सुरु गरेको दोकानबाट राम्रो आम्दानी छ । कागतीबाट पनि कमाउँछौँ । मलाई लाग्दैन कि पैसा कमाउनका लागि विदेश नै जानपुर्छ । गरे यहीँबाट हुन्छ ।’

बोलीले मात्र होइन उनको काम पनि ठूलो मान्छेको जस्तो छ । कागती स्याहार गर्नुबाहेक उनी बोटमा फलेका कागती टिपेर बजारसम्म पुर्याउँछन् । बजारमा भाउअनुरुप बेच्छन् अनि घरखर्च चलाउँछन् । दोकानबाट भएको फाइदा पनि बचत गर्नेगरेको उनी सुनाउँछन् ।

सञ्जयका अनुसार दोकानबाट मासिक २० हजारभन्दा बढी फाइदा हुन्छ । अनि कागतीबाट घरखर्चसहित केही रकम फाइदा हुन्छ ।

आठ कठ्ठामा मलेसियन सखवन

सञ्जयका बुबाले आठ कठ्ठामा मलेसियन सखवन लगाएका थिए । सो निजी वनको देखभाल पनि सञ्जयले गरिरहेका छन् । ‘बुबाले एक सफल उद्यमी बन्नका लागि धेरै प्रयत्न गर्नुभएको थियो । तर उहाँ नरहेपछि त्यहीँ बाटोमा म हिड्दैछु’, सञ्जय भन्छन्, ‘बुबाले कोरेको बाटो हिँड्न असहज छैन । तर लगनशीलता, मेहनत र निरन्तरता भने चाहिन्छ ।’

‘उहाँले के गर्नुभएन ? दोकान राम्रै थियो, खेतीपाती ठीक थियो,’ उनले भने, ‘तर बीचैमा उहाँले छोडेर जानुभएपछि हामीले निरन्तरता दिँदैछौँ ।’

स्थानीय सरकारसँग गुनासो

सञ्जयको कागती खेतीका लागि अन्य उपकरण आवश्यक नहोला । तर पानी पटाउने पम्पसेट र औषधि छिट्ने ट्यांकी चाहिन्छ । स्थानीय सरकारले किसानहरुलाई त्यस्ता प्रकारका कृषि सामग्रीहरु अनुदान वा अर्धअनुदानमा दिँदैआएको समाचार सञ्जयले दिनहुँ सुन्छन् ।

यसैका लागि कहिलेकाहीँ उनी देवानगञ्ज गाउँपालिकाको कृषि शाखा पनि पुग्ने गर्छन् । तर त्यहाँबाट उनी निराश हुँदै फर्किन्छन् । ‘खै ! समाचारमा त सुनिन्छ, स्थानीय सरकारले किसानलाई कृषि सामग्री वितरण गरेको तर हामीलाई दिँदैनन् । बरू पहुँचवाला वर्गले पाउँछन्’, उनी गुनासो पोख्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!