
विराटनगर, ३० चैत । विराटनगरको नोबेल मेडिकल टिचिङ हस्पिटल केही दिनयता तनानग्रस्त बनेको छ । गत बिहीबार मध्याह्न डेलिभरीका क्रममा शिशुको मृत्यु भएपछि आफन्तले सोही दिनदेखि लगातार नोबेलविरुद्ध नाराबारी गरिरहेका छन् ।
त्यसबीचमा प्रहरीले अवरोध गरी प्रदर्शनकर्तालाई लाठी चार्ज गरेपनि आफन्तले नाराबाजी गर्नेक्रम रोकेका छैनन् । सोमबार उनीहरुले अस्पतालको लापरवाहीविरुद्ध विराटनगरमा पत्रकार सम्मेलन गर्ने भएका छन् ।
भएको के थियो ?
सुनसरीको इटहरी–१ आँपगाछीकी २६ वर्षीया सरीता श्रेष्ठलाई डाक्टरहरूले चैत २२ गतेको डेलिभरी डेट तय गरेका थिए । फोनमार्फत परामर्श लिँदा नोबेलका डाक्टरहरूले २४ गते भर्ना हुन भनेका थिए । डाक्टरकै सुझावअनुसार उनका पति मनिष प्रधान र आफन्तले २४ गते नै नोबेल भर्ना गरे ।
तर डाक्टरले दिएको मितिमा बच्चा भएन । त्यसदुई दिनपछि डाक्टर सीता घिमिरेको टिमले नर्मल रूपमा बच्चा नभएपछि भ्याकुमले तान्ने योजना बनायो । तर लगातार प्रयास जारी राख्दा पनि बच्चा जन्मिन सकेन । त्यसपछि आफन्तले यो विधिबाट नभए शल्यक्रिया नै गरौँ भन्ने निधो गरेर डाक्टरसँग सल्लाह लियो ।
‘हामीले डाक्टरलाई भ्याकुमले भएन अब नर्मल हुन नसकेपछि शल्यक्रिया गरौँ भनेर सल्लाह लिएका थियौँ । तर उहाँहरूले भ्याकुमले नै नर्मल हुन्छ भन्दै प्रयास गर्नुभयो । पाँच पटकको प्रयासमा बच्चा त जन्मियो । तर सबै रगत सोहोरिएछ,’ मनिषका बुबा टीकारामले ग्रामीण खबरसँग सुनाए ।
२६ गते बिहान साढे ११ बजेतिर बच्चा जन्मिएको थियो । आमालगायत आफन्तको इच्छाविपरीता भ्याकुमले तान्दा शिशुको टाउकोमा प्वाल परेको थियो । बच्चाको शरीरभरि निलडाम मात्र थियो । र, सबै रगत सोहोरिएका कारण बच्चालाई आइसियुमा राख्न लगियो । तर आधा घण्टापछि डाक्टरले बच्चाको मृत्यु भइसकेको जनाएपछि आफन्त डाक्टर र अस्पताल प्रशासनविरुद्ध नाराबाजीमा उत्रिएको हो ।
बच्चा निकाल्दा टाउकोमा र छातिमा बाहिरै देखिने गरिको गहिरो चोट देखिएपछि आफन्तले उपचारमा संलग्न चिकित्सक टोलिमाथि प्रश्न उठाएका थिए । गत बिहीबार मध्याह्नदेखि नै प्रदर्शनमा उत्रिएका हुन् ।
सरीताका ससूरा टीकाराम भन्छन्, ‘पहिलेको सबै रिपोर्ट नर्मल थियो । डाक्टरले नर्मल नै हुन्छ भनेका कारण ढुक्क थियौँ । तर, सिकारुको फेला परेका कारण शिशुको मृत्यु भएको हो । बिहीबारदेखि नाराबाजी गरिरहेका छौँ ।’
बच्चाको शव अझै अस्पतालमा
गत बिहीबार मृत्यु भएको शिशुको शव अझै अस्पतालमा नै छ । लापरवाही गर्ने डाक्टरलाई कारवाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका आफन्तले कारवाही नभएसम्म शव नलिने बताएको छ । ‘जबसम्म लापरवाही गरी अर्काको ज्यान लिने डाक्टरलाई कारवाही हुँदैन तबसम्म हामी शव लिँदैनौँ’, टीकारामले भने ।
यता, नोबेल अस्पताल प्रशासनले पीडित आफन्तलाई एक लाख दिएर घटना मिलाउन दबाद दिइरहेको टीकाराम बताउँछन् । उनका अनुसार प्रशासनले एक लाख दिएर घटना मिलान प्रस्ताव राखेको थियो । तर, पाँच लाख दिए पनि घटना नमिलाउने टीकारामको भनाइ छ ।