 
							सिमी दुई किसिमका हुन्छन्
१. झाँगे सिमी
२. लहरा जाने सिमी
झाँगे सिमीको लहरा जाँदैन, तर लहरे सिमीको लहरा हुने हुँदा यसको खेतीको लागि थाँको हाल्नुपर्छ । यी किसिमका सिमीलाई फ्रेन्च सिमी मानिन्छ ।
घ्यू सिमी लहरे सिमी हो । यसको उत्पत्ति दक्षिण अमेरिकाबाट भएको मानिन्छ । यसमा प्रशस्त मात्रामा प्रोटिन भिटामिन ए अन्य खनिज तत्वहरू कार्बोहाइड्रेट पाइने भएकाले पौष्टिक दृष्टिकोणबाट बदि महत्वपूर्ण छ सिमीको हरियो कोसा तरकारी खानको लागि र सुकेको दाना दाल खानको लागि प्रयोग गरिन्छ ।
हावापानी
सिमीलाई गर्मी मौसमको आवश्यकता पर्दछ । यसलाई धेरै चिसो र तुषारोले नोक्सान पुयाउने हुँदा उच्च र मध्य पहाडी इलाकामा गर्मी याममा र तराई इलाकामा वर्षा याम र धेरै जाडो याम बाहेक अरु समयमा यसको खेतीगर्न सकिन्छ । धेरै गर्मी र सुख्खा याममा यसको फूल र साना कोसाहरू भर्छन। कोसा लाग्ने उचित तापक्रम १५-२१ डि.से. हो। पानी जम्ने जग्गामा यसको खेती राम्रो हुँदैन ।
माटो
यसको खेती सबै किसिमको माटोमा गर्न सकिन्छ तापनि अगौटे बालीको लागि बलौटे दुमट अन्तर बालीको लागि दुमट चिम्टिलो माटो उत्तम हुन्छ ।
जम्मा तयारी
२/३ पटक राम्ररी खनजोत गरी डल्ला फोर्ने र पानी नजम्ने मलखाद सतह मिलाउनुपर्छ।
मलखाद
२०-२५ डोको राम्ररी कुहिएको गोठेमल अथवा कम्पोष्ट मल, २ किलो फोस्फोरस, ३ कालो पोटास र किलो नाइट्रोजन प्रतिरोपनीका दरले जग्गा खनजोत गर्दा राम्ररी माटोमा मिलाउनुपर्छ। यो पनि कोसेबाली भएकाले यसले ब्याक्टेरियाको सहायताबाट जरामा नाइट्रोजन जम्मा गर्छ। त्यसैले नाइट्रोजनयुक्त मल टपड्रेस गर्नु पर्दैन ।
लगाउने समय र तरिका
यसलाई विभिन्न इलाकामा निम्न समयमा लगाउनुपर्छ । लाईन मिलाएर सो बीउ रोप्नुपर्छ |
| ईलाका | बीउ छर्ने समय | बाली लिने समय | 
| उच्च पहाड | चैंत्र-वैंशाख | असार-भाद्र | 
| मध्य पहाड | माघ-वैंशाख साउन-भाद्र | वैंशाख-साउन असोज-मंसिर | 
| तराई | भाद्र-असोज | मंसिर-माघ | 
बीउ दर
२-३ किलो प्रतिरोपनी
बीउ रोप्ने दुरी
सारको फरक १२० से.मि. बोटको फरक २०-३० से.मि.
थाँक्रो दिने
घ्यू सिमी लहरे बाली भएकाले थाँक्रो दिनुपर्छ थाँक्रो दिदा बाँसको भाटा, निगाला अथवा रुखको हाँगाले चौको दिनुपर्छ (चित्र नं. १९) वर्षामा घ्यू सिमी रोप्दा १२० से.मि. को फरक पारी इसाइ उठाउने र ड्याडको छेउमा लाईन मिलाई बीउ रोप्ने र बीउ उम्रेपछि चित्रमा देखाएजस्तै बाँसको भाटा अथवा रुखको हाँगाले थाँक्रो दिनुपर्छ ।
सिचाई र गोडमेल
बीउ रोप्नुभन्दा पहिले खेतबारीमा पानी पटाउने र राम्रो चिस्यान भएको माटोमा बीउ रोप्नुपर्छ। त्यसपछि आवश्यकता अनुसार सिंचाई गर्दै जानुपर्छ । झारपात पलाएमा कुटो अथवा कोदालोले हल्कासँग खनेर गोड्नुपर्छ ।
बाली लिने
बीउ रोपेको ६०-७० दिनमा हरियो कोसा टिपेर तरकारी खान सकिन्छ। बाली अवधिभर पटक-पटक हरियो कोसा टिप्नुपर्छ।
उत्पादन
२००-३०० किलो हरियो कोसा प्रतिरोपनी उत्पादन हुन्छ ।
बाली संरक्षण
सिमीलाई लाग्ने रोगहरूमा मोजेक भाइरस, एन्थोकनोज सिन्दुरे र कोसा डढने आदि हुन् । मोजेक भाइरस लागेमा रोकथाम गर्न रोगी बोटहरू उखेल्ने र रोग नलाग्ने जात रोप्ने, सिन्दुरे रोग रोकथाम गर्न केराथेन औषधि छर्ने र कोसा डढ्ने रोग रोकथाम गर्न बेभिष्टिन औषधिले बीउ उपचार गरी बीउ रोप्नुपर्छ । यसलाई लाग्ने कीराहरूमा लाही र कोसा प्वाल पार्ने लाभे हुन् लाहीलाई र लाभेलाई मालिथियन झोल औषधि छरी नियन्त्रण गर्न सकिन्छ ।
जात
घ्यू सिमीको जात केन्टकी वन्डर नेपालमा प्रचलित छ। यसको लहरा जान्छ र मोजेक भाइरस रोग लाग्दैन यसका साथै चौमासे सिमी हालका दिनमा निकै प्रचलित जात हो जसको खेती नेपालको मध्य पहाडी क्षेत्रमा वर्षमा दुइपटक गर्न सकिन्छ ।
स्रोत:- तरकारी बाली विकास केन्द्र, खुमलटार ललितपुर


 
										 
												 
												 
												 
												 
												 
												
 
											 
											 
											 
											 
											 
											
