२०८३ बैशाख ४       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

परिचय

नेपाल हावापानी र धरातलीय हिसाबले कागती खेतीका लागि उपयक्त छ । कागतीको खेती वर्षभरि नै न्यानो र ओसिलो हावापानी भएको उष्ण प्रदेशदेखि हिउदमा तुसारो नपर्ने र अन्य समय न्यानो हावापानी हुने, दिनमा कमसेकम ८ देखि १० घन्टा सूर्यको प्रकाश पर्ने क्षेत्र उपयुक्त मानिएको छ ।

व्यासायिक कागती खेती तराई र भित्री मधेसको पानी नजम्ने समुन्द्र सतहबाट १०० मिटरको उचाइदेखि मध्यपहाडी क्षेत्रको बेंसी, खाँच हुँदै १४०० मिटरसम्मको उचाइभएको क्षेत्रमा खेती गर्न सकिन्छ । तथापि गुणस्तरीय बेर्ना अभावले गर्दा नेपालमा यो व्यवसाय फस्टाउन नसक्दा वर्षेनि करोडौं रुपैयाँको कागती आयात गर्नुपरेको छ ।

 

कागतीको नर्सरी स्थापना गर्नको लागि जग्गाको छनोट गर्दा ध्यान दिनुपर्ने कुराहरू

– उपयुक्त हावापानी र माटो भएको क्षेत्रको छनोट गर्नु पर्दछ ।

– असिना नपर्ने तथा सकभर हुस्सु तथा कुहिरो नलाग्ने स्थानको छनोट गर्नुपर्दछ ।

– यातायातको सुविधा भएको स्थानको छनोट गर्नु पर्दछ ।

– सिँचाइको सुविधा भएको, पानी नजम्ने र पानीको निकासको सुविधा भएको स्थानको छनोट गर्नुपर्दछ ।

– रोग तथा किराको प्रकोप कम गर्नका लागि नर्सरी बगैंचाबाट अलग हुनुपर्दछ ।

–  राम्रोसँग घाम लाग्ने, पाहरिलो ठाउँको छनोट गर्नुपर्दछ ।

–  राम्रो उर्वरा शक्ति भएको, बलौटे दोमट माटो भएको स्थानको छनोट गर्नुपर्दछ ।

– माटोको पी.एच.५.५ देखि ६.५ भएको स्थानको छनोट गर्नुपर्दछ ।

– समुद्र सतहबाट १००० मिटरभन्दा कम उचाइमा विशेष गरी सुन्तला र जुनारको नर्सरी स्थापना गर्नु हुँदैन ।

– १००० मिटर भन्दा कम उचाइमा नर्सरी स्थापना गर्नु परेमा बिरुवाहरू जालीघरभित्र
उत्पादन गर्नुपर्दछ।

 वानस्पातिक प्रसारण विधिबाट कलमी बिरुवा उत्पादन प्रक्रिया

१ रुटस्टक्स उत्पादनको लागि नर्सरी ब्याडको तयारी र बिउ रोपाइ

– रुटस्टक्स उत्पादनको लागि तीनपाते सुन्तला अथवा सिट्रेन्जको बिउ कार्तिक महिना
भित्र सङ्कलन गर्नुपर्दछ ।

– नर्सरी ब्याड बनाउने ठाउँमा राम्रोसँग पाकेको कम्पोस्ट मल प्रतिरोपनी ४० डोकाका दरले राख्ने र २-३ पटक खनजोत गरी डल्लाहरू फुटाई झारपात र ढुङ्गाहरू हटाई जमिनको तयारी गर्नुपर्दछ।

– त्यसपछि १० से.मी. उचाइ, १ मिटर चौडाइ र जमिनको अनुकूलता र आवश्यकताअनुसार लम्बाइ भएको ब्याडको तयारी गरी बिउ रोप्नुपर्दछ ।

– बिउ रोपेको ब्याडमा प्लास्टिक टनेल बनाई आवश्यकताअनुसार समय समयमा सिँचाइ गरी रुटस्टक्सका बिरुवाहरू हुर्काउनुपर्दछ ।

– नर्सरीमा रोग र किराहरूको आक्रमण भएमा उपयुक्त रोग वा कीटनाशक विषादीको प्रयोग गरी रोग र किराहरूको नियन्त्रण गर्नुपर्दछ ।

– आवश्यकताअनुसार समय समयमा गोडमेल गरी झारपातको नियन्त्रण गर्नुपर्दछ । प्रत्येक गोडमेलपछि आवश्यक मात्रामा रासायनिक मल तथा सिँचाई दिनुपर्दछ । जसले गर्दा रुटस्टक्सको वृद्धि दर राम्रो हुन्छ । .

– जमिनको सतह देखि २० से.मी. उचाइसम्मको बिरुवाको भाग सफा राख्नुपर्दछ ।

– नर्सरी ब्याडमा पानी जम्न नदिन पानीको निकासको प्रबन्ध मिलाउनुपर्दछ ।

२ रुटस्टक्स बिरुवालाई अर्को बेडमा सार्ने

• व्याड बनाउने ठाउँमा आषाढ श्रावण महिनामा राम्रोसँग पाकेको कम्पोस्ट मल प्रति रोपनी ४० डोकोका दरले राख्ने र २ देखि ३ पटक खनजोत गरी जमिनको तयारी गर्नु पर्दछ।

– १० से.मी.उचाइ, १ मिटर चौडाई र जमिनको अनुकूलता र आवश्यकताअनुसार लम्बाइ भएको ब्याडको तयारी गर्नु पर्दछ ।

– यसरी तयार गरिएको ब्याडमा एक पङ्क्तिबाट अर्को पङ्क्तिको दुरी ३० देखि ३५ से.मी. र एक बोटबाट अर्को बोटको दुरी १५ देखि २० से.मी. फरकमा रुटस्टक्सका बिरुवाहरू रोप्नुपर्दछ ।

– नर्सरीमा रोग वा किराहरूको आक्रमण भएमा उपयुक्त रोग वा कीटनाशक विषादीको प्रयोग गर्नुपर्दछ ।

– आवश्यकताअनुसार समय समयमा गोडमेल गरी झारपातको नियन्त्रण गर्नुपर्दछ ।

– नर्सरी ब्याडमा पानी जम्न नदिन पानीको निकासको प्रबन्ध मिलाउनुपर्दछ ।

३ सुटटीप ग्राफ्टिङ विधिअनुसार कलमी गर्ने तरिका

– यो विधिअनुसार कलमी गर्ने समय मंसिरदेखि पौष महिनासम्म हो ।

– यो विधिअनुसार कलमी गर्नुभन्दा अगाडि रुटस्टकको टुप्पोलाई २० देखि २५ से.मी.माथि सिकेचरले काट्नुपर्दछ।

– सायनको तल्लो भागमा धारिलो ग्राफटिङ चक्कुले ३ देखि ६ से.मी.लामो एकै झड्कामा सफासँग छड्के ताछ्नुपर्दछ ।

– त्यसै गरी रुटस्टकको टुप्पोमा पनि चक्कुले ३ देखि ६ से.मी. लामो एकै झड्कामा सफासँग छड्के ताछ्नुपर्दछ । रुटस्टकको टुप्पोमा छड्के ताछिने लम्बाइ र सायनको तल्लो भागमा छड्के ताछिने लम्बाइ बराबर हुनुपर्दछ ।

-सायन र रुटस्टक दुबैको छड्के ताछिने लम्बाइ तिनीहरूको मोटाइअनुसार निर्भर पर्दछ ।

– यदि रुटस्टक सायनभन्दा मोटो छ भने कम्तीमा पनि रुटस्टकको एकतर्फको बोक्रा (क्याम्बियम) सँग सायनको बोक्रासँग मिलाई प्लास्टिकले बेरेर बाँध्नुपर्दछ ।

– प्लास्टिकले माथिबाट बेर्न सुरु गरी त्यसलाई लपेट्दै तलतिर जानुपर्दछ र तल नै गाँठो पार्नुपर्दछ ।

बिरुवा उत्पादनको लागि नर्सरी ब्याडको तयारी र बिरुवा रोपाइ

– नर्सरीव्याड बनाउने ठाउँमा राम्रोसँग पाकेको कम्पोस्ट मल प्रतिरोपनी ४० डोकाका दरले राख्ने र २ देखि ३ पटक खनजोत गरी जमिनको तयारी गर्नुपर्दछ ।

– १० से.मी.उचाई, १ मिटर चौडाइ र जमिनको अनुकूलता र आवश्यकताअनुसार लम्बाइ भएको ब्याडको तयारी गर्नुपर्दछ ।

– यसरी तयार गरिएको ब्याडमा एक पक्तिबाट अर्को पङक्तिको दरी ३० देखि ३५ से.मी. र एक बिरुवादेखि अर्को बिरुवाको दुरी १५ देखि २० से.मी. कायम हुने गरी कलमी गरेकै दिन कलमी बिरुवाहरूलाई रोप्नुपर्दछ ।

– त्यसपछि सोही दिन बिरुवालाई गुमोज (तल जुटको चट्टी राखेर माथिबाट प्लास्टिकले छोप्ने) बनाई छोप्नुपर्दछ र जुटको चट्टीलाई पानीले राम्रोसँग भिजाई चिसो पार्नुपर्दछ ।

– आवश्यकताअनुसार १ देखि २ दिनको अन्तरमा जुटको चट्टीलाई पानीले राम्रोसँग भिजाई माथिबाट प्लास्टिकले छोप्नुपर्दछ ।

– जसले गर्दा कलमी गरेको स्थानमा क्यालसको विकास भई कलमी राम्रोसँग जोडिन्छ । कलमी गरेको करिब १ महिनापछि कलमी राम्रोसँग जोडिन्छ ।

– गर्मी समय (चैत्र महिना) सुरु भएपछि प्लास्टिक विस्तारै हटाउनुपर्दछ, एकै पटक हटाउनु हुँदैन।

– जेष्ठ महिनाभर जुटको चट्टी हटाउनु हुँदैन ।

– नर्सरी ब्याडमा पानी जम्न नदिन पानीको निकासको प्रबन्ध मिलाउनुपर्दछ ।

४. नर्सरी व्यवस्थापन

मलखादको प्रयोग, गोडमेल, सरसफाइ र रोग तथा किराहरूको नियन्त्रण

– आवश्यकताअनुसार समय समयमा गोडमेल गरी झारपातको नियन्त्रण गर्नुपर्दछ ।

– प्रत्येक गोडमेलपछि उपयुक्त मात्रामा रासायनिक मल तथा सिँचाइ दिनुपर्दछ । जसले
गर्दा कलमी बिरुवाहरूको राम्रो वृद्धि हुन्छ ।

– कलमी बिरुवाहरूले सूक्ष्म खाद्य तत्त्वहरूको कमी भएका लक्षणहरू देखाएमा जिङ्क, फलाम, वोरन आदि तत्त्वहरू बिरुवाहरूमा छर्न सकिन्छ।

– ५ देखि १० ग्राम युरिया प्रति बिरुवाका दरले दुई पङ्क्तिको बिचमा कुलेसो बनाई टपड़ेस गर्न सकिन्छ।

– नर्सरीमा रोग तथा किराहरूको आक्रमण भएमा उपयुक्त रोग तथा कीटनाशक विषादीको प्रयोग गरी नियन्त्रण गर्नुपर्दछ ।

– नर्सरीमा रोग तथा किराहरूको प्रकोपलाई कम गर्नका लागि नर्सरीवरिपरिका झारपातहरू उखेली नर्सरीलाई सधैं सफा राख्नुपर्दछ ।

सिँचाइ र पानीको निकास

– समय समयमा आवश्यकताअनुसार सिँचाइ गरी कलमी बिरुवाहरू हुर्काउनुपर्दछ ।

– सिँचाइका लागि भारी, स्प्रीङ्कल वा पाइपबाट फोहरा बनाई नर्सरी ब्याडको चारैतर्फ एकनासले पर्ने गरी सिँचाइ दिनुपर्दछ ।

– नर्सरी व्याडमा पानी जम्न नदिन पानीको निकासको प्रबन्ध मिलाउनुपर्दछ ।

– नर्सरी ब्याडमा पानी जम्यो भने जरा कुहिने रोग लाग्ने सम्भावना बढी हुन्छ ।

– बिरुवाहरूमा जरा कुहिने रोगका लक्षणहरू देखिएमा १० ग्राम निलोतुथो र १० ग्राम चुना प्रतिलिटर पानीमा घोली बिरुवामा छर्नुपर्दछ ।

नर्सरी बिरुवाको लागि तालिम

– कलमी बिरुवाहरूलाई आफ्नो इच्छाअनुसारको आकारको बनाउनका लागि बिरुवाहरूलाई तालिम दिनुपर्दछ ।

– कलमी गरिएको भागभन्दा तल रुटस्टकबाट आएका चुसक हाँगाहरूलाई (Sprout) कम्तीमा पनि महिनाको दुई पटक हटाई सफा गरिरहनुपर्दछ ।

– कलमी बिरुवाहरूलाई बलियो र सोझो बनाउनका लागि जमिनको सतहदेखि २० से.मी. उचाइसम्मको भागमा आएका चुसक हाँगाहरूलाई हटाई सफा राख्नुपर्दछ ।

– कलमी बिरुवाहरूको मूल हाँगालाई बढ्न दिई अन्य शाखा हाँगाहरूलाई हटाउनुपर्दछ ।

– कलमी बिरुवाहरू १.५ फिटदेखि २ फिटसम्म उचाईका भएपछि मात्र आषाढदेखि श्रावण महिनासम्ममा बिक्री वितरण गर्नुपर्दछ ।

५. कागतीका बिरुवाहरू प्याकिङ्ग र ढुवानी

प्रविधि केही वर्ष पहिलासम्म पहाडी भागमा सुन्तलाजात फलफूल बिरुवाहरू ढुवानी गर्ने काम कठिन समस्याको रूपमा देखिएको थियो । प्लास्टिकको थैलामा माटोसहित फलफूलका बिरुवाहरू ढुवानी गर्न सरकारलाई धेरै आर्थिक दायित्व बहन पर्ने गरेको थियो।

यसै तथ्याङ्कलाई हृदयङ्गम गरी राष्ट्रिय सुन्तलाजात अनुसन्धान कार्यक्रम धनकुटाले सुन्तलाजात फलफूल बिरुवाको हुवानीसम्बन्धी स्लभ प्रविधिको विकासबारे लामो समयसम्मको अनुसन्धानपछि फलफूल बिरुवाहरूको सुरक्षित ढुवानीसम्बन्धी सुलभ र कम खर्चिलो प्रविधिको विकास गरी सम्बन्धित सबै सरोकारवालाहरूलाई सोहीअनुसार गर्न सिफारिस गरिसकेको छ ।

पहाडी भागमा सुन्तलाजात फलफुल बिरुवा वानी खर्च धेरै लाग्ने भएकाले सो ढवानी खर्च कम गर्न र बिरुवाहरूको सुरक्षित ढुवानीका लागि यस प्रविधिको विकास गरिएको हो ।

– कलमी बिरुवाहरूलाई नर्सरी ब्याडबाट उखेल्नुभन्दा करिब १ देखि २ हप्ताअगाडि नै बिरुवाको काटछाँट गर्नुपर्दछ ।

– कमजोर र नचाहिने हाँगाहरू र नयाँ पालुवालाई काटछाँट गरी बिरुवाको वाष्पोत्सर्जन (पानीको खपतको मात्रा) लाई कम गर्नुपर्दछ ।

– नर्सरीबाट बिरुवाहरू उखेल्न सजिलो पार्न नर्सरी ब्याडलाई सिँचाइ गरी भिजाउनुपर्दछ ।

– नर्सरी ब्याडबाट बिरुवाहरू उखेल्दा जराहरूलाई धेरै क्षति नपुगोस् भनी ध्यान दिनुपर्दछ ।

– यस प्रविधिअनुसार कलमी गरिसकेपछि नर्सरी व्याडमा सिधै रोपिएका बिरुवाहरू ब्याडबाट उखेलिसकेपछि वा कलमी गरीसके पछि प्लास्टिकका थैलामा माटो भरी त्यसमा रोपिएका बिरुवाहरूलाई प्लास्टिकका थैलाहरू च्यातेर पुरै माटो हटाइन्छ।

– त्यस पछि १.५ मिटर जुटको चट्टीमा पानीले भिजाएको १ किलो चिसो झ्याउमा १०० गोटा बिरुवाको जरा प्रणालीलाई लपेटी जुटको चट्टीलाई दुबैतर्फबाट बेरेर मुठो पारिन्छ ।

– त्यस मठोलाई सुतलीले दई ठाउँमा राम्ररी कसिने गरी बाँधेर प्याकिङ्ग गरिन्छ र बिरुवाको जरा प्रणालीलाई पुनः पानीले राम्ररी भिजाइन्छ ।

– यसरी १०० गोटा बिरुवाहरू प्याकिङ्ग गरेको एउटा मुठाको तौल बढीमा ५ किलोग्राम मात्र हुन आउँछ। एउटा भरियाले कम्तीमा पनि त्यस्ता ५ गोटा मुठाहरू बोक्न सक्दछ । बिरुवाहरू प्याकिङ गरिसकेपछि गन्तव्य स्थानसम्म बिरुवाहरूको सुरक्षित ढुवानी गर्नुपर्दछ।

– यस प्रविधि अनुसार प्याकिङ गरी गन्तव्य स्थानसम्म ढ्वानी गरिदै गरिएको बिरुवाहरूको मृत्युदरलाई कम गर्नका लागि ढ्वानीअवधिभर तथा विरुवाहरू बगैंचामा रोप्नअगाडि सम्म बिरुवाको जरा प्रणालीलाई पटक पटक पानीले भिजाउनुपर्दछ ।

– यस प्रविधिको विकास हुनुअगाडिको विधिअनुसार प्लास्टिकको थैलामा रोपिएका माटो सहितका बिरुवाहरू एउटा भरियाले बढीमा ४० वटा विरुवाहरू मात्र बोक्न सक्दथ्यो।

स्रोत : राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्र, नार्क

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!