२०८२ कार्तिक १७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ । घरअगाडिको औरही खोलाबाट अनियन्त्रित रूपमा भइरहेको ढुंगा, गिट्टी र बालुवाको अवैध उत्खननको विरोध गर्दा ज्यान गुमाएका धनुषाको मिथिला–५ श्रीपुरका ओमप्रकाश महतो (दिलीप) को हत्या भएको साढे दुई वर्षसम्म न्याय नपाएपछि उनको परिवार काठमाडौं आइपुगेको छ ।

जिल्ला अदालतमा दर्ता भएका मुद्दा दुई वर्षमा टुंगो लगाउने गरी ‘न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजना ९२०७६–२०८१०’ को लक्ष्यअनुसार काम भएको भए महतो परिवारले ‘न्याय’ पाइसक्ने थियो । तर, दिलीपको मुद्दामा अहिलेसम्म साक्षीको बयानरबकपत्रसमेत नभएका कारण उनको परिवार सहयोगको याचना गर्न काठमाडौं आएको हो ।

दिलीपका बुवा रामजीवन, भाइ ख्वाइस, दुई बहिनी लक्ष्मी र संगम शुक्रबार राजधानी आइपुगेका हुन् । आइतबार पत्रकार सम्मेलन गरी कानुन व्यवसायीको सहयोगमा न्यायिक नेतृत्वको ध्यानाकर्षण गराउने उनीहरूको तयारी छ । ‘विपक्षीले आठ जना वकिल नै राखेका छन्, पालैपालो पेसी स्थगित गराइरहेका छन्, हामीले सरकारी वकिलबाहेक कोही राख्न सकेका छैनौं,’ रामजीवनले भने ।

अनियन्त्रित उत्खननविरुद्ध आवाज उठाइरहेका दिलीपको चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक र कामदारले हत्या गरेको आरोप छ । क्रसर उद्योग सञ्चालक विपिनकुमारले अवैध एवं अनियमित रूपमा बालुवा–गिट्टी उत्खनन गरेको भन्दै विरोध गर्न २०७६ पुस २५ गते बिहान ४ बजे दिलीप खोलामा पुगेका थिए तर त्यहाँबाट उनी जीवितै फर्किन पाएनन् ।

हत्यापश्चात् उनलाई टिपरले किचाएर दुर्घटना भएको देखाउने प्रयास गरिएको प्रहरी प्रतिवेदनमा उल्लेख छ । दिलीपको हत्या गरेको भन्दै चुरियामाई बालुवा प्रशोधन उद्योग सञ्चालक विपिनकुमार महतो, उनका दाइ विनोदकुमार महतो, उद्योगमा कार्यरत मुनिन्द्र महतो, जितेन्द्र महतो, सत्यनारायण महतो र शत्रुधन महतो तथा दिलीपका साथी रोशनकुमार यादवविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । उनीहरूमध्ये सुरुमा फरार रहेका उद्योग सञ्चालक विनोद करिब एक वर्षपछि अदालतमा आफैं हाजिर हुन पुगेकामा जिल्ला अदालतले साधारण तारेखमा राख्यो ।
कामदारहरू सत्यनारायण र शत्रुधन तथा विनोदका साथी रोशनकुमारलाई जिल्ला र उच्च अदालतले २५ हजार धरौटीमा छाडेका कारण उनीहरू निष्फिक्री हिँडिरहेका छन् । उद्योग सञ्चालक विपिन तथा उनका कामदारहरू मुनिन्द्र र जितेन्द्र पुर्पक्षका लागि थुनामा छन् । यो मुद्दाको फैसला नहोउन्जेलसम्म उनीहरू न्यायिक हिरासतमा बस्नुपर्नेछ । उनीहरू सातै जनाले दिलीपलाई फलामको लिभर र पेचकसले शरीरका विभिन्न भागमा क्रूरतापूर्वक प्रहार गरेर हत्या गरेको सरकारी वकिलको दाबी छ । जिल्ला अदालतमा दायर गरिएको अभियोगपत्रमा आक्रमणपश्चात् बेहोस भएर ढलेका दिलीपलाई ना ७ ख ६४१३ नं. टिपरको पछाडिको चक्काले टाउकोमा कुल्चाएर मारी सडक दुर्घटनाको रूप दिने प्रयास गरिएको उल्लेख छ ।

२०७६ माघ २२ मा धनुषा जिल्ला अदालतमा दायर गरिएको अभियोगपत्रमा दिलीपलाई यातना दिई क्रूरतापूर्वक मारेको भन्दै सातै जनालाई जीवित रहेसम्म कैद गर्न माग गरिएको छ । मुलुकी अपराध संहिता, २०७४ को दफा ४१ मा ‘क्रूर यातना दिई निर्ममतापूर्वक ज्यान मार्ने व्यक्तिलाई जीवित रहेसम्म कैद गर्नुपर्ने’ कानुनी व्यवस्था छ । यही कानुनी व्यवस्थालाई दिलीपको घटनामा पनि आकर्षित गर्ने सरकारी प्रयास छ ।

दिलीपको हत्यासम्बन्धी मुद्दा जिल्ला अदालतमा दर्ता भएको १४ महिनापछि मात्रै पूर्ण सुनुवाइका लागि इजलासमा पेस भएको थियो । २०७७ चैत ३१ देखि गत महिना साउन ३० सम्ममा जम्मा १० पटक पेसीमा चढेकामा तीन पटकमात्र सुनुवाइ भयो, जसमा २०७८ असोज ७ मा जिल्ला न्यायाधीश ध्रुव कार्कीले साक्षी बुझ्न आदेश दिएका थिए । त्यसपछि अदालतले निरन्तर तीन पटकसम्म यो मुद्दा स्थगित गर्‍यो ।

२०७८ फागुन २५ मा अर्का न्यायाधीश तीर्थराज केसीले पुनः साक्षी बुझ्ने आदेश दिए । त्यस्तै गत जेठ २४ मा अर्का न्यायाधीश परशुराम भट्टराईले बयानरबकपत्र गराउन आदेश दिएका थिए । त्यसबाहेक पेसीका अन्य दिनमा अभियुक्तहरूका कानुन व्यवसायीले सुनुवाइ स्थगित गराएका थिए । गत जेठ ९ मा एक पटक सरकारी वकिलले सुनुवाइ स्थगित गराएको देखिन्छ । ‘आफूहरूले जति नै अनुरोध गर्दा पनि अदालतमा सुनुवाइ सुरु नभएपछि काठमाडौं आएको’ दिलीपकी बहिनी लक्ष्मीले बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!