२०८२ माघ १       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सप्तरी,२ पुस : सप्तरीमा धानबालीपछिको दोस्रो बालीको रूपमा लगाउँदै आएको गहुँ छर्ने समय सकिन लागेको छ । बजारमा रासायनिक मल नपाएपछि बाध्य भएर मल विनै किसानले गहुँ छर्ने काम गरिरहेका छन् ।

धान भित्र्याइसकेको महिना दिन भइसक्दा पनि अहिले जिल्ला सदरमुकाम राजविराज र ग्रामीण क्षेत्रका बजारमा मल नपाएपछि पूर्णरुपमा गहुँ छर्न नपाएको किसानहरूले गुनासो गरेका छन् । महादेवा गाउँपालिका –१ का किसान जयनारायण यादवले गहुँ छर्ने मुख्य ऋतु सुरु भएर सकिन लाग्दासमेत बजारमा मल नआएको बताउनुभयो ।

धान काटेर खेत खाली भएको महिना लाग्दा समेत बजारमा मल नपाउँदा मल विनाको बाली राम्रो नहुने हो कि चिन्ता लागेको गुनासो उहाँले सुनाउनुभयो । अर्का किसान दीपेन्द्र यादवले अधियाँमा १० कट्ठा खेती गर्दैआएकोमा गहुँको बीउमा डीएपी र पोटास मिसाएर छर्ने योजना बनाए पनि गाउँको सहकारी र बजारका पसलमा मल नहुँदा मल विना नै गहुँ छर्नुभयो । यादवले आफूजस्तै हजारौँ किसानले डीएपी, पोटास र युरिया मलको अभाव खेप्न बाध्य भएको बताउनुभयो ।

बजारमा मल नपाएपछि सीमावर्ती दक्षिणवर्ती गाउँका किसानले भारतबाट गुणस्तरहीन मल ल्याएर प्रयोग गर्न बाध्य भएका छन् । सप्तरीको छिन्नमस्ता गाउँपालिका –४ का किसान दीपेन्द्र यादव, राजगढ गाउँपालिकाका किसान सुरेन्द्र यादव, बलानविहुल गाउँपालिकाका किसान मनोज यादवले मल नपाएकाले किसान समस्यामा परेको बताउनुभयो ।

यसैबीच मलखाद भण्डारण गरी नेपाल सरकारले तोकेको मूल्यभन्दा बढी मूल्यमा बिक्री गरिरहेको आरोपमा प्रहरीले राजविराज नगरपालिका –१० विरौल का १९ वर्षीय राजकुमार दासलाई कालोबजार अन्तर्गत मुद्दा दर्ता घट्ना सम्बन्धमा थप अनुसन्धान काम भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

स्रोत :गोरखापत्र

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!