विराटनगर, ११ पुस: प्रदेश नंं. १ मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले प्रदेश सभाको प्रथम अधिवेशन यही मिति २०७९ पुस १७ गतेका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले नेपालको संविधानको धारा १८३ को उपधारा(१) बमोजिम प्रदेश सभाको प्रथम अधिवेशन यही मिति २०७९ पुस १७ गते आइतबार अपरान्ह ०१ः०० बजेका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको प्रथम अधिवेशन आह्वान गर्न नेपालको संविधानको धारा १६६ को उपधारा (२) बमोजिम माननीय प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको बताउनुभयो । प्रदेश प्रमुखले प्रदेश सभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेश सभाको अधिवेशन आह्वान गर्नेछ भन्ने संवैधानिक व्यवस्थाबमोजिम प्रदेश सरकार मन्त्रिपरिषद्ले बैठक आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । बैठकमा प्रदेश सभा आह्वानबाहेकका कार्यसूची नभएकाले अन्य कुनै निर्णय नभएको मन्त्री घिमिरेले बताउनुभयो ।
© 2025, All right reserved to Grameen Khabar
Developed️ By Gorkhaly Labs




