२०८३ बैशाख ४       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ, १४ पुस : बागमती प्रदेश सरकारले किसान परिचयपत्र वितरण गर्ने भएको छ । प्रदेशभित्र रहेका किसानहरूलाई व्यावसायिकताका आधारमा वर्गीकरण गरी प्रदेश सरकारले परिचयपत्र वितरण गर्न लागेको हो ।

प्रदेश सरकारअन्तर्गतको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले किसान परिचयपत्र वितरण कार्यविधि(२०७९ निर्माण गरी सोमबार प्रदेश राजपत्रमा प्रकाशन गरिसकेको छ । यो कार्यविधि राजपत्रमा प्रकाशन भएको मितिदेखि नै लागू भइसकेको प्रदेश सरकारका सचिव शरणकुमार पाण्डेले जानकारी दिएका छन् ।
परिचयपत्र वितरण भएपछि किसानको आत्मसम्मान बढ्ने तथा उनीहरूको वास्तविक पहिचान गर्न सहज हुने मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले जानकारी दिएका छन् ।

यसअघि गैरकिसानले पनि राज्यबाट लाभ लिइरहेकामा अबचाहिँ वास्तविक किसानको पहिचान हुने र किसानले अनुदानलगायतका सेवा सहज रूपमा पाउन सक्ने अधिकारीको भनाइ छ । यसअन्तर्गत मन्त्रालयले किसानका लागि बैंकबाट ऋण लिन सहजता हुने र त्यसमा गृहकार्यसमेत भइरहेको अधिकारीले बताएका छन् ।

कार्यविधिमा निर्वाहमुखी, अर्ध व्यावसायिक र व्यावसायिक गरी ३ भागमा किसानको वर्गीकरण गरिएको छ । निर्वाहमुखीका लागि रातो, अर्ध व्यावसायिकका लागि पहेँलो तथा व्यावसायिकका लागि हरियो रङ्गको परिचयपत्र वितरण गरिनेछ ।

किसानले लगाएको बालीको क्षेत्रफलका आधारमा कृषकको वर्गीकरण गर्नाका लागि मन्त्रालयले विभिन्न मापदण्डसमेत निर्धारण गरेको छ । मन्त्रालयले ३ महिने अभियान सञ्चालन गरेर किसान परिचयपत्र वितरणको कार्य गर्ने जनाएको छ ।

त्यसपछि ज्ञान केन्द्र र विज्ञ केन्द्रले निरन्तर रूपमा परिचयपत्र वितरण गर्नेछ । जसका लागि किसानले सम्बन्धित जिल्लाको ज्ञान केन्द्रमा निवेदन दिनुपर्ने मन्त्रालयले जनाएको छ । हाल प्रदेशभरि ६ लाख २४ हजार घरधुरी किसान रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!