२०८२ कार्तिक १७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

वीरगन्ज,२४ पुष: पर्सामा अपहरण गरेको आरोपमा चार जना बालक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साले अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा चार जना बालकलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरू नाबालक भएकाले उनीहरूको पहिचान खुलाइएको छैन।

कार्यालयका डिएसपी दीपक गिरीका अनुसार घटना शनिबार बिहान साढे ५ बजे भएको हो।

वीरगन्ज महानगरपालिका-१६ इनर्वा बस्ने १६ वर्षीय बालक आफ्नो घरको आँगनको कलमा हात मुख धोइरहेका थिए। त्यही बेला उनीसँगै कक्षामा पढ्ने चार जना साथीहरूले मिलेर कम्बलले उनलाई छोपेको डिएसपी गिरीले बताए।

बालकलाई नियन्त्रणमा लिएर मुखमा कपडा कोचेर बोल्न कराउन समेत नदिई घरबाट ३ सय मिटर टाढासम्म लगेको पाइएको छ। सुनसान खाली चौरमा लगेर मुखमा गलबन्दी, पन्जा तथा रूमाल समेत कोचेको पाइएको छ। कालो केबलको तारले मुखको कपडा नखुस्कियोस् भनेर र हात खुट्टासमेत बाँधेर नियन्त्रणमा लिएको डिएसपी गिरीले बताए।

परिवारले आफ्ना छोरा हराएको भन्ने खबर दिएपछि प्रहरीको टोली खटिएको थियो। उक्त टोलीले अपहरणमा परेका बालकको उद्धार गरेको हो। यस्तै आरोपित चार जना बालकलाई पनि नियन्त्रणमा लिइएको छ। पीडित र पक्राउ परेका आरोपितहरू कक्षा १० मा पढ्ने विद्यार्थी हुन्।

डिएसपी गिरीका अनुसार अपहरणमा परेका बालक सधैँ कक्षामा प्रथम हुने गर्थे। उनीमाथि रिस, द्वेश र आरिसका कारण अपहरण गरेको पाइएको हो।

अपहरण गर्ने बालकहरूलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। उनीहरूलाई महिला तथा बालबालिका सेलमा राखेर अनुसन्धान गर्न लागिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!